काठमाण्डौँ, १७ मंसिर । नेपाल प्रिमियर लिग (एनपीलएल) क्रिकेटमा आज विराटनगर किंग्स र लुम्बिनी लायन्सले खेल्दैछन् । सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगर र रोहित पौडेलको कप्तानी रहेको लुम्बिनीबीचको खेल त्रिवि त्रिकेट रंगशालामा दिउँसो ४ बजे शुरू हुनेछ । दुवै टोलीले आज आफ्नो छैटौं खेल खेल्दैछन् । विराटनगरले यसअघिका पाँच खेलमध्ये चार खेल जितेको छ भने एउटा खेल हारेको छ ।
विराटनगर ८ अंकसहित अंकतालिकाको तेस्रो स्थानमा छ । लुम्बिनीसँगको आजको खेलमा विराटनगरमा आवद्ध दक्षिण अफ्रिकाका ब्याटर फाप डु प्लेसिसले खेल्न सक्ने सम्भावना छ । एनपीएल क्रिकेटमा लुम्बिनी लायन्सले भने यसअघिका पाँचमध्ये २ खेल मात्रै जितेको छ । ४ अंकका साथ लुम्बिनी अंक तालिकाको छैटौं स्थानमा छ । प्लेअफमा पुग्ने सम्भावना कायमै राख्न लुम्बिनीका लागि आजको खेलमा पनि जीत महत्त्वपूर्ण छ ।।





