नेपाली संस्कृतिको अनुपम छटा बोकेको तिहार अर्थात् यमपञ्चकको अन्तिम दिन आज भाइटीका (भातृद्वितीया) पर्व मनाइँदैछ। यो पर्व दाजुभाइ र दिदीबहिनीबीचको पवित्र र अटुट् प्रेमको प्रतीक हो। यस पावन दिन दिदीबहिनीले आफ्ना दाजुभाइलाई विधिपूर्वक पूजा गरेर निधारमा सप्तरङ्गी टीका लगाइदिने विशिष्ट परम्परा छ। यो टीका केवल धार्मिक प्रचलन मात्र नभएर गहिरो पौराणिक, ज्योतिषीय र वैज्ञानिक महत्त्व बोकेको कल्याणको कामना हो।
विस्तृत शास्त्रीय आधार तथा विधि
भाइटीकाको उत्पत्तिको मुख्य आधार पौराणिक कथामा निहित छ। कथा अनुसार, यसै दिन बहिनी यमुनाले मृत्युका देवता आफ्ना दाजु यमराजलाई विशेष मान–सम्मानका साथ पूजा–अर्चना गरी टीका लगाइदिएकी थिइन्। यमुनाको निष्ठा र प्रेमबाट प्रसन्न भएर यमराजले उनलाई वरदान दिए कि यस दिन जसले आफ्नी बहिनीको हातबाट टीका लगाउँछ, उसलाई कालले समेत कुनै अनिष्ट गर्न सक्ने छैन।
यही विश्वासका साथ, दिदीबहिनीले दाजुभाइको जीवनमा कालको बाधा नपरोस्, उनीहरू दीर्घायु र निरोगी होऊन् भनी प्रार्थना गर्दै निम्न शास्त्रीय विधिहरू प्रारम्भ गर्छन्ः
अष्ट चिरञ्जीवीको आह्वानः टीकाको दिन बिहानै स्नान गरी अष्ट चिरञ्जीवी (अश्वत्थामा, बलि, व्यास, हनुमान, विभीषण, कृपाचार्य, परशुराम र मार्कण्डेय) को भक्ति र अनुष्ठानपूर्वक आह्वान गरी पूजा गरिन्छ, जसले दीर्घायुको कामना पूरा गर्छन्।
काल छेक्ने विधिः पूजाको क्रममा दियो, कलश र गणेशको पूजापछि घरको मूल ढोकामा ओखर फुटाएर तथा यमराजको पूजा गरी काल छेक्ने प्रतीकात्मक विधि गरिन्छ। ओखरको कठोरता फुटाएर दाजुभाइको जीवनमा आउने सबै अप्ठ्याराहरू नाश होऊन् भन्ने कामना गरिन्छ। सप्तरङ्गी टीकाको वैज्ञानिक ज्योतिषीय सम्बन्धः टीका लगाउने क्रममा सौर्यमण्डलका अधिपति सूर्य तुला राशिमा निच (कमजोर) भएर बस्दा उत्पन्न हुने नकारात्मक विकिरण (विषाक्तता) रोक्नका लागि सूर्यको किरणमा हुने सात रङ्गको प्रतीक स्वरूप सप्तरङ्गी टीका लगाइन्छ। यसलाई सात ग्रह (सूर्य, चन्द्र, मङ्गल, बुध, वृहस्पति, शुक्र, शनि) को अनुकूलताको कामनासँग पनि जोडिन्छ।
माला तथा सगुनको महत्त्वः दाजुभाइलाई लगाइने मखमलीको माला कहिल्यै नओइलाओस्, सयपत्रीको रङ्ग कहिल्यै नउडोस् र दुबो सधैँ हरियो रहिरहोस् भनी दाजुभाइको प्रेम र जीवनलाई अमर, अटल र दीर्घायु बनाउने कामना गरिन्छ। टीकापछि दहीको सगुन दिने चलन छ, जसलाई शुभ र समृद्धिको प्रतीक मानिन्छ। दिशाको महत्त्वः शास्त्रीय नियम अनुसार, भाइटीका लगाउँदा टीका थाप्ने व्यक्तिले चन्द्रमालाई सम्मुख वा दायाँतिर पार्नुपर्छ। यसका लागि टीका लगाइदिने दिदीबहिनी पूर्व र टीका थाप्ने दाजुभाइ पश्चिम फर्किएर बस्नु उत्तम मानिन्छ।
सप्तरङ्गी टीकाका सात रङ्ग र तिनको भाव
दिदीबहिनीले दाजुभाइको निधारमा लगाइदिने यी सात रङ्गहरूले जीवनका महत्त्वपूर्ण आयामहरूलाई प्रतिनिधित्व गर्छन्। रातोले सुखको कामना गर्छ भने त्यसपछि क्रमशः नीलोले शान्ति, गुलाफीले समृद्धि, बैजनीले स्वास्थ्य, हरियोले दीर्घायु, पहेंलोले उल्लास (खुशी) र पुछारमा लगाइएको सिन्दूर÷रातो टीकाले उमङ्गको भाव बोकेको हुन्छ। यी सात रङ्गको समिश्रण दाजुभाइको जीवनमा सम्पूर्ण कल्याणको कामना हो।
आज भाइटीकाको यस पावन अवसरमा, दिदीबहिनीले दाजुभाइको निधारमा लगाइदिने सप्तरङ्गी टीका, मखमली र सयपत्रीको माला, दुबोको प्रयोग तथा तेलको धाराले छेक्ने विधिहरू सबै दाजुभाइको अखण्ड सौभाग्य, आरोग्य, कीर्ति र दीर्घायुको कामनामा केन्द्रित छन्। यो पर्वले दिदीबहिनी र दाजुभाइको नातालाई केवल पारिवारिक सम्बन्धको रूपमा मात्र नभई एक–अर्काको सुरक्षा र कल्याणका लागि गरिएको शास्त्रीय अनुबन्धको रूपमा स्थापित गर्छ। समस्त दाजुभाइ तथा दिदीबहिनीहरूमा भाइटीकाको पावन पर्वको हार्दिक मङ्गलमय शुभकामना! यो सप्तरङ्गी टीका, प्रेम र दीर्घायुको अभेद्य कवच बनी, तपाईंहरूको जीवनमा सधैँ सुख, शान्ति, समृद्धि र आरोग्य भर्न सकोस् !
लेखक लक्ष्मी न्यौपाने सरस्वती चौतारा माध्यामिक विद्यालय तुलसीपुर–९ सल्ली वनका प्रधानाध्यापक हुनुहुन्छ ।


