काठमाण्डौँ, २ कात्तिक । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत यूएईमा हुने शृङ्खलाका लागि नेपाली राष्ट्रिय टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट सङ्घ क्यानले रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो । टोलीमा कप्तान रोहित पौडेलसहित उपकप्तान दीपेन्द्र सिंह ऐरी, सन्दीप लामिछाने, आसिफ शेख, अनिल साह, कुशल भुर्तेल, सोमपाल कामी, करण केसी, नन्दन यादव, भीम सार्की, कुशल मल्ल, आरिफ शेख, ललित राजवंशी, गुल्शन झा र शाहब आलम रहेका छन् ।
यही कात्तिक ९ देखि १९ गतेसम्म लिग–२ अन्तर्गत नेपालले यूएई र अमेरिकासँग शृङ्खला खेल्न लागेको हो । पहिलो खेल कात्तिक ९ गते नेपालले अमेरिकासँग खेल्दै शृङ्खला शुरु गर्नेछ । तीन वटै टोलीले एकअर्कासँग समान दुई खेल खेल्नेछन् । आठ टोली सम्मिलित लिग–२ मा २० खेलमा २८ अङ्कसहित अमेरिका दोस्रो, १६ खेलमा १२ अङ्कसहित नेपाल सातौं र छ अङ्कसहित यूएई पुछारमा छ ।।





