दाङ, ८ असोज । दाङको तुलसीपुर– घोराही चार लेन सडक निर्माणका लागि सर्भेको काम पूरा भइसकेको छ । हाल साइट भेरिफिकेसनको काम चलिरहेको छ । सडक डिभिजन कार्यालय दाङ सँगको सहकार्यमा निर्माण कम्पनी दिवा/ बन्दन भगवती जेभीले भेरिफिकेसन पूरा गरेपछि कात्तिकदेखि सडक निर्माण सुरु गर्ने योजना बनाएको कम्पनीका कन्ट्र्याक्ट म्यानेजर इन्जिनियर सुनिल ढुङ्गानाले जानकारी दिनुभयो ।
सर्भेपछि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) अनुसार सडक निर्माणका क्रममा हटाउनुपर्ने रुख, विद्युत् पोल र घरको विवरण पहिचान गर्ने काम भइरहेको छ । साउनको दोस्रो सातादेखि निर्माण कम्पनी र सडक डिभिजन कार्यालयका प्राविधिकहरूले ज्वाइन्ट सर्भे सुरु गरेका थिए । डिके पेट्रोलपम्पदेखि हात्तीखौसम्म २१.५८ किलोमिटर सडकखण्डमा ४३ वटा रुख हटाउनुपर्ने छ। सहरी क्षेत्रमा सडक ३० मिटर चौडाइको (२० मिटर कालोपत्रे र फुटपाथसहित) र ग्रामीण क्षेत्रमा १५ मिटर कालोपत्रे कायम गरिने छ। करिब ९.५ किलोमिटर सडक सहरी क्षेत्रमा पर्नेछ। सडक स्तरोन्नतिका लागि २ अर्ब ५३ करोड रुपैयाँमा २०८२ असार २४ गते दिवारबन्दन भगवती जेभीसँग ठेक्का सम्झौता भएको थियो। सम्झौताअनुसार निर्माण कम्पनीले २०८५ असार २४ भित्र काम सम्पन्न गर्नुपर्नेछ।
यसअघि भारतको एक्जिम बैंकको ऋण लगानीमा २०७६ सालदेखि सडक निर्माण सुरु भए पनि ठेकेदारको लापरबाहीका कारण काम अलपत्र परेको थियो। त्यसपछि २०८० जेठमा तत्कालीन सरकारले भारतीय कम्पनी तथ्य इन्जिनियरिङ एन्ड इन्फ्रा प्रोजेक्टसँगको ठेक्का रद्द गरेको थियो।




टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।