२०८२ असोज २६ गते आइतवार

मलेसियाविरुद्धको टि–ट्वान्टी सिरिजका लागि नेपाली महिला टोली घोषणा

काठमाडौं, ४ असोज । नेपाल क्रिकेट संघ (क्यान) ले मलेसियाविरुद्ध हुने टि–ट्वान्टी सिरिजका लागि राष्ट्रिय महिला टोली घोषणा गरेको छ। अनुभवी खेलाडी सीता राना मगर लामो समयपछि टोलीमा फर्किएकी छन् भने यसअघिको टोलीमा रहेका पाँच खेलाडी यसपटक बाहिर रहेका छन्।

चोटका कारण मैदानबाट टाढा रहेकी सीताले पुनरागमन गरेकी हुन्। यशोदा बिष्ट पहिलोपटक राष्ट्रिय टोलीमा स्थान बनाउन सफल भएकी छिन्। यसअघि ग्लोबल क्वालिफायर खेलेका विन्दु रावल, मनिषा उपाध्याय, सबनम राई, ईश्वरी बिष्ट र रोमा थापा टोलीमा परेनन्। उनीहरूको ठाउँमा सीता राना मगर, यशोदा बिष्ट, सोमु बिष्ट, रचना चौधरी र साबित्रा धामीले स्थान पाएका छन्।

नेपाल र मलेसिया महिला राष्ट्रिय टोलीबीच असोज १६ देखि २२ गते (अक्टोबर २ देखि ८) सम्म टि–ट्वान्टी सिरिज हुनेछ। त्यसअघि असोज ८ देखि १४ गते (सेप्टेम्बर २४ देखि ३०) सम्म हुने मलेसियन सुपर वुमन्स सिरिज मा नेपाली खेलाडी पाँच फरक टोलीबाट सहभागिता जनाउनेछन्।

नेपाली राष्ट्रिय महिला क्रिकेट टोली

इन्दु बर्मा, पूजा महतो, राममति ऐरी, सम्झना खड्का, कविता जोशी, रिया शर्मा, सोमु बिष्ट, रचना चौधरी, रुबी पोद्दार, यशोदा बिष्ट, सावित्रा धामी, कविता कुँवर, रुविना क्षेत्री, सीता राना मगर।

प्रकाशित मिति : २०८२ असोज ४ गते शनिवार
प्रतिक्रिया