दाङमा ट्राफिक कार्यालय र प्रहरी पोष्ट ध्वस्त

दाङ, २८ भदाै। जेन–जी आन्दोलनको क्रममा दाङको जिल्ला ट्राफिक प्रहरी कार्यालयसहित जिल्लाभरका प्रहरी पोष्ट र विट तोडफोड तथा आगजनीमा परेका छन् ।

प्रहरी निरीक्षक उपेन्द्रबहादुर बमको नेतृत्वमा रहेको कार्यालयमा रहेका कम्प्युटर, प्रिन्टर, कागजात, बर्दी र उपकरण जलेर नष्ट भएका छन् । ट्राफिक प्रहरीका २८ सवारीसाधन, स्कार्पियो, भ्यान, मोटरसाइकलसमेत जलेका छन् । प्रमुख बमका अनुसार कार्यालयमा अब न त बर्दी बाँकी छ न बस्ने ठाउँ । जिल्लाभर १२ भन्दा बढी प्रहरी चौकी, विट र पोष्टमा तोडफोड तथा आगजनी भएको दाङ प्रहरीले जनाएको छ । यसबाट ट्राफिक व्यवस्थापन शून्य अवस्थामा पुगेको छ ।

सडकमा ट्राफिक प्रहरी अभाव हुँदा सवारी नियन्त्रण, नियम उल्लंघन नियन्त्रण र दुर्घटना मुचुल्का गर्ने काम ठप्प भएको छ । सार्वजनिक यातायात सेवा सञ्चालन र इजाजतपत्रसम्बन्धी प्रक्रिया पनि प्रभावित भएको छ । प्रहरीका अनुसार तोडफोड र आगजनीका घटनाले कानून कार्यान्वयन मात्र होइन, यात्रु र चालकको सुरक्षा समेत चुनौतीमा परेको छ । अहिले वैकल्पिक व्यवस्थाबारे छलफल भइरहेको छ ।

प्रकाशित मिति : २०८२ भाद्र २८ गते शनिवार
प्रतिक्रिया