तुलसीपुर बजारमा चहलपहल

तुलसीपुर, २७ भदौ। दाङमा प्रशासनले निषेधाज्ञा जारी गरे पनि तुलसीपुर बजारमा जनजीवन सामान्य बन्दै गएको छ । बिहानैदेखि बजार क्षेत्रमा चहलपहल देखिएको छ । अटो व्यापारसहित पसल, होटल र दैनिक उपभोग्य सामग्रीका दुकानहरू खुलेका छन् भने सार्वजनिक तथा निजी सवारीसाधन पनि सामान्यरूपमै सञ्चालन भइरहेका छन् ।

स्थानीय व्यापारीहरूले सामान्यतया कारोबार चलिरहेको बताउँदै बजारमा विगतको तनावपूर्ण अवस्थाभन्दा निकै फरक वातावरण रहेको उल्लेख गरेका छन् । सडकमा पैदलयात्रीहरूको आवतजावत बढेको छ भने सर्वसाधारणले निःशङ्क रूपमा किनमेल गरिरहेका देखिन्छन् । यद्यपि, पछिल्लो केही दिनअघि जेनजीको आह्वानमा भएको विरोध प्रदर्शन, हुलदंगा र तोडफोडका घटनाले परिस्थिति तनावपूर्ण बनेपछि दाङका प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालले निषेधाज्ञा आदेश जारी गर्नुभएको हो । स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ काे (३) (क) बमोजिम आज दिउँसो १ बजेसम्म लागू हुनेगरी आदेश जारी गरेकाे थियाे ।

निषेधाज्ञा अवधिमा पाँच जना भन्दा बढी भेला भई कुनै पनि प्रकारका सभा, जुलुस, प्रदर्शन, बैठक वा घेराउ गर्न रोक लगाइएको छ । प्रमुख जिल्ला अधिकारी अर्यालले शान्ति सुरक्षा कायम गर्न सबैलाई सहयोग गर्न आग्रह गर्नुभएको छ ।

प्रकाशित मिति : २०८२ भाद्र २७ गते शुक्रवार
प्रतिक्रिया