तुलसीपुर, २४ साउन । थारु समुदायका चाडपर्वमा केही विकृतिहरु भित्रिरहेको भन्दै सचेत र संयम भएर संस्कृति संरक्षणमा लाग्नु पर्ने तुलसीपुरमा आयोजित कार्यक्रममा बोल्ने थारु अगुवाहरुले बताएका छन् । थारु विद्यार्थीहरुको हक अधिकारका लागि भएको छलफल तथा अष्टिम्की र अट्वारीको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्ने अगुवाहरुले यस्तो बताएका हुन् । सामाजिक संजालको अत्यधिक प्रयोग बढ्दै जाँदा यसलाई सही रुपमा सदुपयोग गर्न विद्यार्थीहरुलाई उनीहरुको आग्रह समेत छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला समन्वय समितिका उपप्रमुख चेतना चौधरीले थारु समुदायको अष्टिम्की र अट्वारीको सन्दर्भमा देखिएका विकृत रुपहरुलाई सच्याउँदै संस्कृति संरक्षण गर्नु पर्ने बताउनु भयो । सो अवसरमा थारु क कल्याणकारिणी सभा केन्द्रिय कोषाध्यक्ष चुर्ण बहादुर चौधरीले थारु समुदायको महिलाहरुको अष्टिम्की र पुरुषहरुको पर्व अट्वारी पर्व भएकाले यी दुवै पर्वको पौराणिक तथा सांस्कृतिक परम्परा र मान्यताहरु रहेको भन्दै यसबारे चर्चा गर्नुभयो । उहाँले थारु समुदायका लागि थुप्रै अवसरहरु भएकाले थारु विद्यार्थीहरुलाई अध्ययनमा लगनशील भएर लाग्न सुझाव दिनुभयो ।
यसै गरी विद्यार्थी जेएन चौधरीले देशमा राणा शासन अन्त्य गरी प्रजातन्त्र ल्याउँदा, गणतन्त्र होस् या त लोकतन्त्र ल्याउँदाका आन्दोलनहरुमा थारु समुदायको महत्वपूर्ण योगदान रहेको स्मरण गराउँदै सरकाले विभिन्न शिर्षकका स्कलरसिपहरु छु्ट्याउदै गर्दा थारु विद्यार्थीका लागि पनि छुट्याउन सरकारसँग आग्रह गर्नुभयो । पहुँच, राजनितिक दबाब, प्रभावका आधारमा प्रदान हुने सेवा सुविधाप्रति सुधार गर्दै लैजानुपर्ने धारणा राख्नुभयो ।
कार्यक्रमम दंगीशरण गाउँपालिकाका अध्यक्ष शम्भु गिरी, शान्तिनगर गाउापालिकाका अध्यक्ष प्रमोद बस्नेत, बबई गाउँपालिकाका प्रमुख कुल बहादुर खत्री क्षेत्री, तुलसीपुर उपमहानगरपालिका १२ का अध्यक्ष खुशीराम चौधरी, नेपाल पत्रकार महासंघका निवर्तमान केन्द्रिय अध्यक्ष विपूल पोख्रेल, थारु कल्याणकारिणी सभा तथा थारु पत्रकार संघ दाङका सल्लाहकार लक्ष्मीमान चौधरी, नेपाल विद्यार्थी संघ महासधिवेशन प्रतिनिधि सन्तोष चौधरी, थारु कल्याणकारिणी सभा दाङ क्षेत्र नंबर ३ का अध्यक्ष कल्पना चौधरी, नेपाल थारु संघ दाङका सदस्य मिना चौधरी लगायतले थारु समुदायको संस्कृति संरक्षणमा सबैको हातेकालोको आवश्यकता रहेको औल्याउनुभएको थियो ।
सो अवसरमा विभिन्न तहमा अध्ययन गर्ने र उत्कृष्ट अंक ल्याउने थारु विद्यार्थीहरुलाई नगदसहित सम्मान गरिएको थियो । जसमा बबिता चौधरी, पुजा चौधरी, रुपेश चौधरी रहेका छन् । नेपाल थारु संघ तुलसीपुर नगर कार्य समितिको आयोजना तथा थारु कलाकार मञ्च दाङको सहआयोजनाका भएको कार्यक्रम भएको हो । नेपाल थारु संघ तुलसीपुर नगर समितिका अध्यक्ष पुरन चौधरीको अभ्यक्षतामा भएको कार्यक्रमको सहजीकरण इन्द्र चौधरीले गर्नु भएको थियो । सो अवसरका अष्टमी सम्बन्धी थारु समुदायका गीत, नृत्यहरु लगायत स्थानिय तथा राष्ट्रिय लाकारहरुको प्रस्तुती रहेको थियो ।।




टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।