२०८३ जेष्ठ १५ गते शुक्रवार

सिंचाइ डिभिजनले भन्यो : दाङमा १२ हजार हेक्टर जमिन संरक्षण गर्‍यौं

तुलसीपुर, २१ साउन । जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय तुलसीपुर दाङले साढे १२ हजार हेक्टर क्षेत्रफल जमिन संरक्षण गरेको जनाएको छ । तुलसीपुरमा सार्वजनिक सनुवाई कार्यक्रमको आयोजना गरेर कार्यालयले यस्तो जानकारी दिएको हो । संघियता लागु भएपछि ८ वर्षको अवधिमा दाङका विभिन्न जोखिमयुक्त क्षेत्रमा ७२ किलोमिटर क्षेत्रफलमा तटबन्ध गर्दा १२ हजार ५ सय ४६ हेक्टर क्षेत्रफल जमिन संरक्षण भएको हो ।

त्यसैगरी नदी नियन्त्रणबाट ८२ हेक्टर क्षेत्रफल जमिन उकास भएको छ भने ८ हजार ६ सय ५८ घर, संरक्षण भएको डिभिजन प्रमुख कृष्ण बिकले जानकारी दिनुभयो । त्यसैगरी कार्यक्रममा १ सय ३१ वटा सिंचाई बाँध, १ सय ६१ किलोमिटर पक्की नहर, ६७ वटा लिप्ट सिंचाई, ६८ वटा पम्पहाउस, पाइपलाइनिङ, ९ किलोमिटर, र विद्युतिकरण ४५ वटा निर्माण गरिएको प्रमुख बिकले जानकारी दिनुभयो ।

हालसम्मको निर्माण कार्य अनुसार ७ हजार ६ सय ३२ हेक्टरमा थप सिंचाई सुविधा पुगेको र ३१ हजार ५ सय ८३ हेक्टर क्षेत्रफलमा सिंचाई संरचना सुदृढीकरण गरेको कार्यालयले बताएको छ । सो अवसरमा बोल्ने बक्ताहरुले निर्माण गरिएका संरचनाहरु वातावरणमैत्री बन्नु पर्नेमा जोड दिएका थिए ।

कतिपय ठाउँमा निर्माण गरिएका संरचनाहरु आवश्यकता भन्दा ठूला भएका कारण चरणक्षेत्रमा रहेका गाईवस्तुहरु नहरमा अड्कीने, खस्ने गरेको भन्दै यसतर्फ पनि ध्यान दिन आग्रह गरेका थिए । सो अवसरमा तुलसीपुर उपमहानगरपालिका–९ का वडा अध्यक्ष घनश्याम ढकाल, १२ का वडा अध्यक्ष खुशीराम चौधरी,पत्रकार सुशिल बस्नेत, नारायण खडका, दिपक बोहरा लगायतले आआफ्ना भनाई राख्नु भएको थियो ।

प्रकाशित मिति : २०८२ साउन २१ गते बुधवार
प्रतिक्रिया