२०८३ जेष्ठ २५ गते सोमवार

अब,यसरी पनि सोच्ने की ?

पछिल्लो समय सुचना प्रवाहको छिटो र सरल माध्यमको रुपमा रहेको सामाजिक सञ्जालमा भेटिने सामग्रीहरु प्रायः अराजकता मच्चाउने, नकारात्मक सुचना प्रवाह गर्ने माध्यमको रुपमा विकास हुँदै गइरहेको पाइन्छ । नेपालको आधा भन्दा बढी जनसंख्या सामाजीक सञ्जालमा रमाउने गरेको या भनौं सामाजीक सञ्जालको प्रयोग गर्ने गरेको तथ्याङ्कले बताउँछ । त्यसैले गर्दा सामाजीक सञ्जालमा आउने जस्ता जुकै सामग्रीले पनि समाजमा एकदमै छिटो आफ्नो कब्जा जमाउन सफल भएको देखिन्छ ।

जसको प्रमुख असर युवा पुस्तामा परेको सहजै महसुस गर्न सकिन्छ । अहिलेको युवा पुस्ता आफ्नो अधिकांस समय सामाजीक सञ्जालमा बिताइरहेको देखिन्छ । त्यसैले सामाजीक सञ्जालमा भेटिने जस्तासुकै सामग्रीहरुको असर प्रत्यक्ष रुपमा युवाहरुमा नै पर्दछ । युवा शक्ति राष्ट्र निर्माणको मेरुदण्ड हो भन्ने भनाइ केवल नारा मात्र होइन, एक यथार्थ पनि हो । विश्वका धेरै देशहरुमा सामाजिक, आर्थिक र राजनितिक परिवर्तनको अगुवाइ युवाहरुले गरेका उदाहरण हामीले प्रशस्त मात्रामा पढेका, सुनेका र देखेका पनि छौं । तर, पछिल्लो समय नेपाली युवाहरुमा अराजकता, अनुशासनहीनता र नकारात्मक सोच बढ्दै गएको गुनासो सर्वत्र सुनिन थालेको छ ।

आजको युग सूचना, गति र जनचेतनाको युग हो तर, यति विकास र सूचना प्रवाहको बिचमा पनि समाजमा निराशा, वितृष्णा र राजनीतिप्रति नकारात्मकता बढ्दै गएको देखिन्छ । यस्तो अवस्थामा समाजमा सकारात्मकता फैलाउने जिम्मेवारी केवल सरकार ,राजनितिक दलको मात्र नभएर , आम नागरिक विशेषगरी युवाहरुको काँधमा पनि समान रुपमा पर्छ । किनकी परिवर्तनका लागि उर्जा, जोश र नविन सोच राख्ने वर्ग नै युवा जमात हो ।

राजनिति एक जिम्मेवारी हो, सुविधा होइन । आजको युवा पुस्ताले यदि राजनितिमा चासो राखेन भने भोलीको शासन प्रणाली अझै निराशाजनक हुनसक्छ । सामान्यतः राज्य भन्नेबित्तिकै सरकार र राजनितिक नेतृत्वको कुरा गरिन्छ । तर, लोकतान्त्रिक मुलुकमा राज्यका मुख्य अंगहरु मध्ये जनता पनि एक महत्वपुर्ण शक्ति हुन, जसमा युवाहरुको भुमिका र उपस्थिति अझ बढि प्रभावकारी र महत्वपूर्ण हुन्छ । जबसम्म युवा पुस्ताले आफ्नो भुमिका बुझ्दैनन्, तबसम्म परिवर्तन सम्भव छैन । युवाहरुले राजनितिलाई केबल दलहरुको झगडा र कमाइ खाने भाँडोका रुपमा मात्र बुझ्ने प्रवृत्ति परिवर्तन गर्नुपर्दछ ।

युवाहरुले खोजिरहेको रोजगारी, गुणस्तरीय शिक्षा, स्वास्थ्य सेवा, व्यावसायका अवसर सबैको मुल नै राजनीति हो । विकासमूलक राजनीति र नीतिगत निर्णयबिचको सम्बन्ध प्रस्ट बुझाउन सकियो भने मात्र सहजै रुपमा युवाहरुले राजनीतिलाई समाधानको मूल जराको रुपमा बुझ्न सक्नेछन् । जसले गर्दा युवाहरुका बिचमा फोहोरी खेलका रुपमा विकसित भएको राजनितिले सजिलै आफ्नो अस्थित्व स्थापित गर्न सक्दछ ।

आजको युवा पुस्ता राष्ट्रको भविष्य हो, युवा सहभागिता बिना कुनै पनि परिवर्तन सम्भव छैन । आजको युवा पुस्ता सामाजिक सञ्जालमा सक्रिय छ । तर यही सामाजिक सञ्जालबाट भ्रम, चरित्र हत्या र नकारात्मकता र निराशा फैलिरहेको छ जसले युवा संगसंगै सिङ्गो राष्ट्रको भविष्यका लागि पनि चिन्ताजनक अवस्था सृजना गरिरहेको छ । राजनिति नारा मात्र होइन, नीति हो । आजको युवाहरुले हो– हल्लाका पछि दौडिएर दृष्ट्रिकोण बनाउने भन्दा पनि कर नीति, शिक्षानीति, रोजगारी नीति जस्ता विषयमा अध्ययन गर्ने र आवश्यक परेको ठाउँमा सुझाव दिने , नीतिगत बहसमा सहभागि हुने अहिलेको आवश्यकता हो ।

आम नागरिकले आफ्नो अधिकार संगै कर्तव्यको बोध गरेर अघि बढेमा मात्र समृद्ध नेपाल, सुखि नेपालीको नाराले सार्थकता पाउन सक्छ । राजनिति नै सबै नितिहरु मध्येको प्रमुख निति हो भनेर भनिरहँदा राजनितिक दल र नेताहरुका हरेक क्रियाकलापमा साथ दिने भन्न खोजिएको भने पक्कै पनि होइन । तर सबै नेताहरु त पक्कै पनि खराब हुँदैनन् । सचेत नागरिकले बिरोध पनि गर्नुपर्दछ जसले सरोकारवाला निकायलाई झक्झकाउँदै जिम्मेवार पनि बनाउँछ ।

सरोकारवाला निकायलाई जिम्मेवार बनाउनका लागि नागरिकका तर्फबाट विभिन्न किसिमका अभियान मार्फत आवाज उठाउनु लोकतान्त्रिक अधिकार हो तर, त्यो विधिसम्मत हुनुपर्दछ । हिंसा र अराजकताले केवल व्यवस्था कमजोर पार्छ, त्यसैले युवाले विवेकपूर्ण ढंगले दबाब सिर्जना गर्नुपर्दछ । अहिलेको युवा निहित स्वार्थका लागि कसैबाट पनि परिचालित हुनु भनेको स्वयम् युवाको भविष्य नै अन्धकार तर्फ धकेलिनु हो । यदि कुनै पार्टी वा सरकारको काम राम्रो छैन भने राजनितिक बिचार नमिलेकै भरमा , सस्तो लोकप्रियताको लागि मात्र आलोचना नगरी वैकल्पिक समाधान सहितको सुझाव दिने प्रवत्तिको विकास गर्न सक्यौं भने मात्र सहकार्य र सुधार दुबै सम्भव हुन सक्दछ ।

राज्य कुनै एक पक्षको होइन, हामी सबैको साझा व्यवस्था हो । यदि सरकार असफल भयो भने त्यसको असर हामी सबैमाथि पर्दछ भन्ने भावनाको विकास हामी सबैमा हुन जरुरी छ । केवल बिरोध गर्ने होइन, विकल्प बन्ने अभ्यास सुरु गर्ने अभियानमा युवाको सहभागिता महत्वपूर्ण छ । विद्यार्थी राजनीति, स्थानिय सामाजिक संस्था वा स्वयंसेवक कार्यक्रम मार्फत युवा पुस्तालाई नेतृत्व क्षमता अभिबृद्धि गराउनु टड्कारो आवश्यकता छ ।

अहिलेका राजनीतिक दल र राजनीतिज्ञमा पनि राजनीति केवल शक्ति प्राप्तिको साधन होइन, समाजलाई सही मार्गमा अघि बढाउने शक्ति हो भन्ने कुराको ज्ञान हुन आवश्यकता छ । लोकतान्त्रिक प्रणालीमा राजनीतिक दल र राजनीतिज्ञहरुको भुमिका देशको भविष्य निर्माणसँग प्रत्यक्षरुपमा गाँसिएको हुन्छ । तसर्थ , यी दुवै पक्ष समाज, सरकार र राष्ट्रको मेरुदण्ड हुन् ।
समाजमा सकारात्मकता तबमात्र फैलिन्छ जब हामी प्रत्येकले आफ्ना साना साना भुमिका बुझेर सचेत, जिम्मेवार र सक्रिय नागरिक बन्न सक्छौं ।

सरकार वा राजनितिक दलले मात्र समाज बनाउने होइन उनिहरुले नेतृत्व गर्ने हो , हामीले सचेत नागरिकका हिसाबले सरकारलाई रचनात्मक आलोचना सहित सघाउने हो । सकारात्मक परिवर्तनको बीउ आम नागरिक र विशेषतः युवाको सोच, बोलाइ र गराइमा हुन्छ । अहिलेको समयमा युवाले नकारात्मक सोचको जालोलाइ काट्दै, विवेकशील, सहिष्णु र सक्रिय भई समाज र राष्ट्र निर्माणमा सहयात्री बन्नु अपरिहार्य छ ।

त्यसका लागि सरकार, परिवार, शैक्षिक संस्था र समाज सबैले मिलेर साझा पहल गर्नु अनिवार्य छ । सिङ्गो राष्ट्रको नै भविष्य बोकेका युवाहरु परिवर्तनका संवाहक हुन , तिनिहरुलाई उज्यालो दिशा तर्फ डोर्याउने जिम्मेवारी हामी सबैको हो ।

प्रकाशित मिति : २०८२ असार १९ गते बिहिवार
प्रतिक्रिया