तुलसीपुर, १२ जेठ । तुलसीपुर उपमहानगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रममा यस चालु आर्थिक वर्षमा ६५ जनाले रोजगार पाउनु भएको छ । रोजगारी प्राप्त गर्नेमा अधिकांश महिलाहरु नै रहेका छन् । ६५ जनामध्येमा २।३ जना मात्रै पुरुष रहेको रोजगार संयोजक अंविका पौडेलले जानकारी दिनुभयो । यस वर्ष तुलसीपुर उपमहानगरपालिका वडा नंबर १,३,६,९,१२,१३,१७, र १९ गरी ८ वटा वढामा काम भैरहेको छ । सरसफाइदेखि मर्मत संहार, संरचना निर्माण सम्मका कामहरु हुँदै छन् । गत आर्थिक वर्ष २०८०।०८१ मा ६३ जनालाई रोजगार दिइएको थियो । जसमा ४ जना मात्रै पुरुषहरु रहेका थिए । बाँकी ५९ जना सबै महिलाहरु नै रहेको उहाँले बताउनु भयो ।
गत वर्ष १० वटा योजनामा काम भएको रोजगार संयोजक अम्बिका पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार १, ३, ८, ९, ११, १३, १७, १८, १९ नंबर वडामा विभिन्न योजना सम्पन्न भएका थिए । वडा नंबर १ मा देवस्थानदेखि हापुरकोट जाने बाटोको स्तरोन्नती, ८ मा वडा कार्यालय परिसरको पर्खाल मर्मत तथा निर्माण, ८ नंबर वडामै कट्कुइँया कुलो तथा सार्वजनिक स्थलको सरसफाई र बाटोको स्तर उन्नति, वडा नंबर ११ मा विभिन्न सार्वजनिक स्थलको मर्मत, बगैँचा निर्माण र नाला सरसफाई, १९ मा खानेपानीको मुहान संरक्षण, सामुदायिक भवन निर्माण तथा बाटोको स्तरोन्नती गरिएको थियो ।
यस्तै ३ नंबरमा भगवती प्राथमिक विद्यालयको पर्खाल निर्माण, मठमन्दिर निर्माण र कुलोको स्तरोन्नती तथा नाला सरसफाइ, ९ मा नवदुर्गा ग्रीन पार्कको स्तरोन्नती, १८ मा सिंचाइ कुलोको पाइप विस्तार, कुलोको सरसफाइ र वडा कार्यालय परिसर सरसफाई, १७ मा सार्वजनिक भवनको मर्मत तथा निर्माण, र सिंचाइ कुलोको स्तरोन्नती, १३ मा खानेपानीको पाइप विस्तार तथा बाटोको स्तरउन्नती गरिएको थियो । जसका लागि ६५ लाख, ४१ हजार, ६ सय ४२ रुपैयाँ बजेट रहेकोमा ४२ लाख ८ हजार ४ सय रुपैयाँ भुक्तानी गरिएको थियो । २२ लाख ६१ हजार २ सय ४२ रुपैयाँको भने अन्तिममा काम नभएर फिर्ता भएको थियो । श्रमिकलाई दैनिक ६ सय ६८ रुपैयाँका दरले पारिश्रमिक दिइएको थियो ।
महिलाको संख्या कसरी धेरै भयो ?
उपमहानगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत रोजगार पाउनेमा पहिलेदेखि नै पुरुष भन्दा महिलाको संख्या धेरै रहेको रोजगार संयोजक पौडेलले जानकारी दिनुभयो । शिष्टमले नंबरिङ गर्दा महिलाहरुको नंबर धेरै आउने भएकाले पुरुषको संख्या कम देखिएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार पुरुष भन्दा महिलाहरुको आवेदन पनि धेरै आउने गरेको छ तर आवेदनको आधारमा नभइ शिष्टमका आधारमा श्रमिकहरु छनोट हुने भएकाले यस्तो देखिएको हो ।
महिला भएका ५ अंक बढी र एकल पहिला भएमा फेरी ५ अंक थपिने शिष्टम भएकाले महिला भएमा १० अंक बढी हुने हुँदा महिलाको संख्या धेरै हुन गएको हो । यसै गरी प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत रोजगार प्रदान गर्नका लागि गरिव विपन्न परिवारका सदस्यलाई विशेष प्राथमिकतामा राखिन्छ । कम्तीमा पनि १ सय दिनको रोजगारी प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत दिने गरिन्छ । एक जनालाई सय दिन भन्दा बढी रोजगार दिन नमिल्ने प्रावधान अनुसार त्यो भन्दा कम तथा श्रमिकको उपस्थिति र योजनाअनुसार रोजगारी दिने गरिन्छ । श्रमिकलाई दैनिक ६ सय ६८ रुपैयाँका दरले पारिश्रमिक दिने गरिएको छ ।।




टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।