२०८३ भाद्र १० गते बुधवार

लमहीमा जारी प्रधानमन्त्री कपमा वाग्मती प्रदेश १३१ रनले विजयी

लमही, ९ चैत ।  दाङको लमहीमा जारी नेपाल टेलिकम प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिता २०८१ मा वाग्मती प्रदेशले दिएको २४१ रनको विजयी लक्ष्य पछ्याएको कोशी प्रदेश २५ दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै १०९ रनमा अलआउट भयो । सूर्य तामाङले कोशीका पाँच खेलाडीलाई पेभेलियन फर्काएपछि वाग्मतीले १३१ रनको सहज जीत निकालेको हो ।

लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भएको खेलमा वाग्मतीका सूर्य तामाङ र साकार गजुरेलले कोशीका सोनु अन्सारी, सुभम गहतराज, दिपेश कँडेल शून्य पेभेलियन फर्काउँदा क्रिजमा सेट भईसकेका सुजन थपलिया पनि सूर्य तामाङको बलमा बोल्ड भए । ज्ञानेन्द्र श्रेष्ठ १ रनमा आउट भए ।

कोशीका लागि आशिष भट्टराईले ४९ बल खेल्दै ४ चौकासहित ३७ रन जोडे । ओपनर चिराग साह शुन्य रनमा आउट हुँदा अर्का सकिब हक ४ रन बनाएर रिजन ढकालको बलमा एलबीडब्लू आउट भए । कप्तान अंकित सुवेदीले ४ रन बनाएर।रिजन ढकालको बलमा एलबीडब्लू भए । ८५ रन जोड्दा ९ विकेट गुमाएको कोशीका लागि फिर्दाेश अन्सारीले अन्तिम विकेटका रुपमा २५ बलमा ३ छक्कासहित २४ रन जोडे ।

वाग्मतीलाई सहज जीत दिलाउन महत्त्वपूर्ण ५ विकेटसहित १७ रन जोडेका सूर्य तामाङ प्लेयर अफ द म्याच भए । यसअघि, वाग्मती प्रदेशले टस जितेर पहिले ब्याटिङ २४० रन बनाएको थियो । टस जितेर पहिले ब्याटिङ गरेको वाग्मती प्रदेशले ४९ दशमलव ३ ओभरमा सबै विकेट गुमाएर २४० रन बनाएको थियो । वाग्मतीका लागि शुभ कंशाकारले सर्वाधिक ३९ रन बनाए । उनले २८ बलमा ६ चौका र १ छक्काको सहयोेगमा ३९ रन बनाए ।

आशुतोष घिरैयाले २९ रन जोड्दा ईशान पाण्डे र विपिन आचार्यले समान २५–२५ रन जोडे । यसैगरी, कप्तान पृथु बास्कोटाले २४ रन जोड्दा रिजन ढकालले २२ रन, सोनु देवकोटाले १८ रन, सूर्य तामाङले १७ रन, गौतम केसीले १६ रन बनाए । कोशीका तर्फबाट प्रकाश कार्की र सुजन थपलियाले समान २–२ विकेट लिए । फरिद अन्सारी, ज्ञानेन्द्र श्रेष्ठ र दिपेश कँडेलले समान १–१ विकेट लिए ।

वाग्मती प्रदेश सात खेलबाट ३ खेलमा जीत निकाल्दै ६ अंकका साथ अंक तालिकाको छैठौं नम्बरमा उक्लिएको छ । ७ खेलमा एउटामात्र जीत निकालेको कोशी प्रदेश अंक तालिकाको पुछारमा झरेको छ । दाङमा पहिलो पटक आयोजना गरिएको पिएम पुरुष क्रिकेट प्रतियोगितामा अंक तालिकाको आठौँ स्थानमा वाग्मती प्रदेश र नवौँमा कोशी प्रदेश रहेको छ । अहिलेसम्म ६ खेल खेलीसकेको वाग्मती २ मा जीत र ४ मा हार व्यहोर्दै ४ अंकका साथ आठौँ स्थानमा रहँदा समान ६ खेल खेलीसकेको कोशी प्रदेश १ खेलमा जीत र ५ खेलमा लगातार हार व्यहोर्दै २ अंकका साथ अंक तालिकाको नवौँ स्थानमा छ ।

नेपाल क्रिकेट संघ क्यानको आयोजना, प्रदेश क्रिकेट संघको समन्वय तथा दाङ क्रिकेट संघको व्यवस्थापनमा जारी प्रतियोगितामा ३ विभागीय टीम आर्मी क्लब एपीएफ क्लब र नेपाल पुलिस क्लबसहित सात प्रदेश टीमले फागुन २५ गतेबाट लुम्बिनी प्रदेशको रुपन्देही र दाङमा प्रतियोगिता खेलीरहेका छन् । राउण्ड रोविनका आधारमा भईरहेको प्रतियोगिता चैत १६ गतेसम्म चल्नेछ ।

तीन खेल मैदानमा भईरहेकोे प्रतियोगिता अन्तरगत रुपन्देहीको सिद्धार्थ रंगशालामा १७ वटा, एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा १५ वटा, दाङको लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा १४ वटा गरि ४६ वटा खेल भईरहेका छन् । यता, दाङमा देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा १२ गतेसम्म हुने प्रतियोगितामा अब चैत १० गते सुदरपश्चिम र कोशी प्रदेश, चैत ११ गते वाग्मती र कर्णाली प्रदेश तथा चैत १२ गते नेपाल पुलिस क्लब र कर्णाली प्रदेश बिच खेल हुने तालिका रहेको छ ।

प्रकाशित मिति : २०८१ चैत्र ९ गते शनिवार
प्रतिक्रिया