तुलसीपुर, ६ चैत । तुलसीपुर उपमहानगरपालिका –११ का वडा अध्यक्ष मानबहादुर रावतले एसईईमा ४ जिपिए ल्याउने विद्यार्थीलाई २५ हजार रुपैयाँले सम्मान गरिने बताउनु भएको छ । भोलिदेखि सुरु हुन लागेको माध्यमिक शिक्षा परीक्षा (एसईई)मा सहभागी विद्यार्थीहरूलाई शुभकामना दिँदै अध्यक्ष रावतले यस्तो बताउनु भएको हो । ११ नम्बर वडामा रहेका २ वटा सामुदायिक विद्यालयबाट करिब १४० जना विद्यार्थीले एसईई दिदैँ छन् । यस वर्षको माध्यमिक शिक्षा परीक्षा भोलि चैत ७ गतेदेखि सञ्चालन हुँदैछ ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ का अध्यक्ष मानबहादुर रावत परीक्षामा सहभागी हुने विद्यार्थीलाई आज (बुधबार) विद्यालयमा पुगेर शुभकामना दिँदै, एसईईमा उच्च अंक प्राप्त गर्ने विद्यार्थीलाई विशेष सम्मानको घोषणा गर्नुभएको हो ।
‘भोलि चैत ७ गते देखि संचालन हुने यस वर्षको एसईई परीक्षामा सहभागी हुने सबै विद्यार्थी भाइबहिनीहरूलाई शुभकामना दिन चाहन्छु । तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ का सामुदायिक विद्यालयबाट एसईई परीक्षामा सहभागी भएर ४ जिपिए ल्याउने छात्रछात्राहरूलाई तुलसीपुर ११ वडा कार्यालयको तर्फबाट उच्च शिक्षा अध्ययन गर्न र सम्मान स्वरुप जनही रु २५ हजारले सम्मान गर्ने जानकारी गराउन चाहन्छु ।’ अध्यक्ष रावतले भन्नुभयो ।
सामुदायिक विद्यालयको शिक्षा सुधारका लागि वडा कार्यालयको तर्फबाट उच्च शिक्षा अध्ययन गर्न प्रोत्साहनस्वरूप नगद २५ हजारले सम्मानित गर्ने निर्णय भएको वडा अध्यक्ष रावतले बताउनुभयो । वडाको यो निर्णयले विद्यार्थी तथा अभिभावकलाई उत्साहित बनाएको छ । ११ नम्बर वडाले यसअघि पनि सामुदायिक विद्यालयमा कक्षा १ मा भर्ना हुने विद्यार्थीलाई आगामी शैक्षिक सत्रदेखि वडाको तर्फबाट एक हजार रुपैयाँ छात्रवृत्ति उपलब्ध गराउने निर्णय गरिसकेको छ ।




टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।