२०८३ मङ्सिर ९ गते बुधवार

 दाङमा शिक्षाक्षेत्रमा चाइना फाउण्डेसनको ठूलो लगानी, उपलब्धि कति ?

दाङ, २५ फागुन ।  ब्याकवार्ड सोसाइटी एजुकेसन (बेस) मार्फत चाइना फाउण्डेसन फर प्रभटी एलिमेशनले दाङमा शिक्षा क्षेत्रमा ठूलो लगानी गरेको छ । १ जुलाइ २०२२ देखि १५ अप्रिल २०२५ सम्मका लागि मुस्कुराइरहेका बालबालिका तथा भान्सा सहयोग कार्यक्रम मार्फत फाउण्डेसनले दाङका सामुदायिक विद्यालयमा लगानी गरेको हो । चाइना फाउण्डेसनले पहिलो वर्ष शैक्षिक सहयोग तथा न्यानो कपडा कार्यक्रम अन्तर्गत २ करोड ७३ लाख ५१ हजार आर्थिक सहयोग गरेको थियो ।

दाङ, बाँके र बर्दियाका  ५० वटा विद्यालयका १० हजार बालबालिकालाई शैक्षिक सामग्री वितरण गरिएको बेसका शैक्षिक कार्यक्रम निर्देशक पिङकी डाँगीले जानकारी दिनुभयो । शैक्षिक सामग्री अन्तर्गत ब्याग, हाइजीन किटस, माक्स, ब्रस,  मञ्जन, टाबेल, ज्यामिति बक्स, बलपेन, सिसाकलम, रेखाचित्र कापी, इलेजर, टिफिन बक्स, पानीको बोतल लगायत २१ प्रकारका सामग्री रहेको बेसले बताएको छ ।

पहिलो चरणको शैक्षिक सामग्री पाउनेमा दाङका ६ हजार ८ सय १०,  बाँकेका एक हजार ९ सय ४८ र वर्दियाका १ हजार एक सय २२ जना विद्यार्थी रहेको निर्देशक डाँगीले बताउनुभयो । शैक्षिक सामग्री शिशुकक्षा देखि ८ कक्षासम्मका विद्यार्थीलाई वितरण गरिएको थियो । त्यसैगरी तुलसीपुर क्षेत्रमा रहेका २३ वटा विद्यालयका दुई हजार ५ सय १५ जना विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ । त्यसैगरी न्यानो कपडा अन्तर्गत ट्रयाकसुट, मोजा, मखलर र टोपी वितरण गरिएको थियो ।

शैशिक्ष सामग्री र न्यानो कपडा वितरण कार्यक्रम पहिलो वर्ष मात्रै लागु भएपनि दिवाखाजा कार्यक्रम भने विगत ३ वर्षदेखि निरन्तर चलिरहेको छ । दिवाखाजा कार्यक्रमका लागि .३ करोड ५४ लाख २ हजार बजेट चाइना फाउण्डेसनले आर्थिक सहयोग गरेको छ । यो कार्यक्रम तुलसीपुर उपमहानगरपालिका, दंशीशरण र शान्तिनगर गाउँपालिका समेत गरेर तीनवटा पालिकामा संचालनमा रहेको छ । जहा १३ वटा विद्यालयका एक हजार पाँच सय ८० जना विद्यार्थीले दैनिक ६५ रुपैयाँ बराबरको खाजा खाने गरेका छन् । नेपाल सरकारको १५ रुपैयाँ र चाइना फाउण्डेसनको ५० रुपैयाँ समेत गरेर प्रति विद्यार्थी ६५ रुपैयाँको खाजा खुवाउने गरिएको कार्यक्रम निर्देशक डाँगीलेबताउनुभयो ।


बेसले दिएको जानकारी अनुसार तुलसीपुर उपमहानगरपालिका अन्र्तगत, जनश्रमीक प्राथामिक विद्यालय गैरापातु, पशुपति माध्यामिक विद्यालय हरीपौरी, आधारभूत विद्यालय कोठरी, बालचेतना आधारभूत विद्यालय धमकापुर र बाल मितेरी माध्यामिक विद्यालय भोजपुर रहेका छन् ।  त्यसैगरी दंगीशरण गाउँपालिका अन्तर्गत, सिद्धपृथ्वी जनता माध्यामिक विद्यालय श्रीगाउँ, भानुभक्त माध्यामिक विद्यालय प्रसडुवा, ज्ञान ज्योति प्राथमिक विद्यालय बोगटी, माध्यामिक विद्यालय शान्तीपुर–७ तुलसीपुर, शिवशक्ती माध्यामिक विद्यालय धनौरा, हात्तीखाल जनशक्ति प्राथमिक विद्यालय बैंशा, रात्री प्राथमिक विद्यालय बैंशा, आधारभूत प्राथमिक विद्यालय कौवाघारी रहेका छन् ।

के भन्छन् स्थानीय अभिभावक ?
स्थानीय अभिभावकले कार्यक्रम फलदायी र उपलब्धीमूलक भएको प्रतिकृया दिएका छन् । पहिलापहिला विद्यालय जान मन नगर्ने बालबालिकाहरू हिजोआज स्कुल जान आफै हतार गर्ने गरेको अभिभावक बिनिता बिकले बताउनुभयो ।  ‘मेरा तीन भाइबिना छोराछोरी जनश्रमीक प्राविमा पढ्छन् । छोरो अमृतले  कक्षा १,  टिकाले ३ र सिताले ५ कक्षामा पढ्छन् । हामी त गरिब मान्छे लुकाएर के गर्ने, कहिले पैसा हुँदैन थियो, छोराछोरी त्यतिकै स्कुल जान्थे । पैसा हुँदा टिफिन गराएर पठाउँथे नहुँदा  त कहिले बासी खाना समेत टिफिनका रुपमा पठाएँ । गरिब दुखी मान्छे साँझ बिहान के खाउँ भन्ने हुन्छ । पहिला स्कुल पठाउन निकै ग्राहो हुन्थ्यो । स्कुल जाने समय भएपछि भागीहाल्थे । खोजी खोजी ल्याएर पठाउनुपथ्र्यो । आजभोली त रमाउँदै आफै स्कुल जान्छु भन्दै सत्तिहाल्छन् । स्कुल पठाउँदा टिफिन पनि पठाउनु परेन । प्रत्येक दिन फरक फरक नास्था खान्छन् ।  हाइसन्चो छ ।’ अभिभावक बिनिताले भन्नुभयो । 

खाजाको परिकार कस्तो हुन्छ  ?
दिवाखाजा अन्तर्गत आइतबार दालभात र तरकारी, सोमबार चाउमिन र अण्डा, मंगलबार पुरि र तरकारी, बुधबार हलुवा, तरकारी र फलफुल, बिहीबार चना अण्डा र फलफुल, शुक्रबार खीर र तरकारीको व्यवस्था गर्ने गरिएको छ । दिवाखाजा शिशु कक्षादेखि ६  कक्षासम्मका बालबालिकालाई मात्र उपलब्ध गराउने गरिएको छ । सुरुमा विद्यालय प्रवेश गर्ने बित्तिकै बालबालिकालाई  एक १ सय ५० एमएल अर्थात एक गिलास दुध दिने गरिन्छ । खाजाको तयारी र बालबालिकालाई खुवाउन समेत फाउण्डेसनले भान्सेको व्यवस्था गरेको छ  ।

दिवाखाजाले पढाइमा निरन्तरता
सामुदायिक विद्यालयमा दिवाखाजाको व्यवस्था भएपछि बालबालिकाहरुको पढाईमा निरन्तरता भएको विद्यालयहरुले बताएका छन् । पोषणयुक्त दिवाखाजाका कारण विद्यार्थीले पछिल्लो समय जाँगर लगाएर पढ्ने, नियमित गृहकार्य गर्ने, पढाएको सजिलै बुझ्ने, सरसफाइमा ध्यान दिने गरेका छन् । जसले शैशिक उपलब्धीमा समेत उल्लेख्य सुधार भएको प्रअहरूले दाबी गरेका छन् ।

‘कक्षामा पढाउने बेला कहिले विद्यार्थी धेरे हुन्थे कहिले थोरै हुन्थे । अभिभावकले पिट्दै रुवाउँदै विद्यार्थीलाई स्कुलमा ल्याएर छोड्थे । कतिपय विद्यार्थीहरु आफै आएपनि रुँदै आएका हुन्थे । कक्षा कोठामा पढाउँदा नबुझ्ने र रुँगेर विद्यार्थी बस्थे । आजभोली त विद्यार्थीले घरभन्दा स्कुलमा राम्रो मान्न थालेका छन् ।’ शिक्षक  रामहरी केसीले भन्नुभयो ।
विद्यालयका अनुसार दिवाखाजाको व्यवस्था नहुँदा बालबालिकाहरू पढ्नका लागि कहिले आउने र कहिले नआउने समस्या व्यापक रहेको थियो । तर पछिल्लो सयमा कक्षा छाड्ने दर निकै न्यून रहेको छ ।

गाउँघरमा बिहे, पुजा वा कुनै समारोह हुँदा पढ्नका लागि स्कुल नआउने विद्यार्थीहरू दिवाखाजाको सुविधा भएपछि नियमित आउने गरेको जनश्रमीक प्राथमिक विद्यालय गैरापातुका प्रधानाध्यापक सुशीला भट्टराईले बताउनुभयो ।

‘सामुदायिक विद्यालयमा प्रायजसो गरिब तथा विपन्न वर्गका छोराछोरी पढ्न आउँछन् । बजारको ठाउँ भएकाले कोही फुपुको घरमा बसेर पढ्छन् । कोही मामा, कोही अङ्कलको घरमा बसेर पढ्छन् । कसैको त बाबुआमा नै हुँदैनन् । समाजमा यस्ता विभिन्न खाले तमाम समस्याहरू भएका बालबालिकाहरू हुन्छन् । कतिपय विद्यार्थीहरू त भोकै आउने गरेको पनि पाइयो । जुनदिन दिवाखाजा कार्यक्रम सुरु भयो र  विद्यार्थीले पेटभरी खान पाए त्यो दिन दर्जनौ विद्यार्थी खुशीले रुदाँ मैलेपनि मन थाम्न सकिन ।’ प्रअ भट्टराईले भन्नुभयो ।

कार्यक्रमको उद्देश्य अनुसार उपलब्धी भएको छ : बेस 
दाङका तीन पालिकाका १३ वटा विद्यालयमा कार्यक्रम लागू गरेको ब्याकवार्ड सोसाईटी एजुकेशन (बेस) ले उद्देश्य अनुसार उपलब्धी हासील गर्न थालेको बताएको छ । विद्यार्थीको पोषणमा सुधार, बालबालिकाको शरिरीक वृद्धिविकास, पढाइमा नियमितता, शैक्षिक सुधार, विद्यालय छोड्ने दरमाकमी जस्ता कृयाकलापलाई बेसले उपलब्धीको रुपमा लिएको छ । बालबालिकाको पोषणमा सुधार, पढाइमा नियमितता र भर्नादरमा वृद्धि गर्ने उद्देश्यले दाङमा यो कार्यक्रम लागु गरिएको बेसका कार्यकारी निर्देशक चुर्णबहादुर चौधरीले जानकारी दिनुभयो ।

यद्यपी मुस्कुराई रहेका बालबालिका र पाण्डा प्याक (शैक्षिक सामग्री) कार्यक्रमको माग अत्याधिक बढेको छ । उक्त कार्यक्रमका लागि दर्जनौँ स्कुलका प्रधानाध्यापकहरु कार्यालयमा आउने गरेको निर्देशक चौधरीले बताउनुभयो । सरकारी स्कुलमा गरिब तथा विपन्न बर्गका बालबालिकाहरू अध्ययनरत हुनेभएकाले उनिहरुको पढाइलाई निरन्तरता दिन, पोषणमा सुधार ल्याउन र शैक्षिक गुणस्तरका लागि पछिल्लो समय कार्यक्रमको माग बढ्न थालेको बेसले जनाएको छ । शैक्षिक सामग्री दाङ सहित बाँके र वीर्दियामा वितरण गरेपनि दिवाखाजा कार्यक्रम भने दाङमा मात्रै लागुभएको छ । 

प्रकाशित मिति : २०८१ फाल्गुन २५ गते आइतवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।