दाङ,५ असोज । दाङ तुलसीपुर अरनिको मैदानमा सञ्चालित स्वर्गीय कुबेर बहादुर शाह स्मृति कप खुला पुरुष भलिबल प्रतियोगिता २०८१ को उपाधि ज्ञान ज्योती कलेज तुलसीपुरले जितेको छ। नेपाली काँग्रेस तुलसीपुर नगर कार्यसमितिको आयोजना तथा फेलोसिप ट्रेनिङ सेन्टर तुलसीपुर दाङको प्राविधिक व्यवस्थापनमा अरनिको खेल मैदान तुलसीपुरमा सञ्चालित प्रतियोगिताको फाइनल खेलमा ग्रेट अरनिको मावि तुलसीपुर २५ – १३, २५ – १४ र २५ – १४ अर्थात ३ – ० को सोझो सेटमा पराजित गर्दै ज्ञान ज्योतीले उपाधि चुमेको हो ।
उपाधिसंगै उसले नगद एक लाख पाँच हजार, कप , मेडल तथा प्रमाणपत्र हात पार्यो । फाइनलमा पराजित अरनिको उपविजेतामा सीमित रहँदै नगद नगद ६५ हजार, कप मेडल प्रमाणपत्रमा चित्त बुझाउन बाध्य भयो। त्यस्तै हेलो मोबाई ए तुलसीपुरले तृतीय स्थान हात पार्यो । तत्कालीन समयमा समग्र राप्ती अञ्चलकै खेलकुदको विकास र बिस्तारमा अतुलनीय योगदान पुर्याउने खेलकुद क्षेत्रका हस्ती स्वर्गीय कुबेर बहादुर शाहको स्मृति तथा सम्झनामा नेपालको राष्ट्रिय खेल भलिबलको विकास र प्रवर्द्धन सँगै प्रतिभावान् खेलाडीको पहिचान र विकासमा टेवा पुर्याउने मुख्य उद्देश्यका साथ आयोजना गरिएको प्रतियोगितामा बेष्ट प्लेयर खेलाडी ज्ञान ज्योती कलेजका हेमन्त मल्ल भए । उनले नगद ३५ सय र ट्रफी हात पारे ।
त्यस्तै वेष्ट ब्लकर ज्ञान ज्योतिकै चिरण खड्का, वेष्ट स्पाइकर ग्रेट अरनिकोका बिक्रम बोहरा, बेष्ट सेटर ज्ञान ज्योतिका सुवास कँवर, वेष्ट लिब्रो ग्रेट अरनिको का अभिषेक वली र वेस्ट सर्भर ग्यान ज्योतिका मनिष मानन्धर लाई क्रमशः जनही २५ सयका दरले नगद पुरस्कार र ट्रफी प्रदान गरिएको थियो । तीन दिन सम्म सञ्चालित प्रतियोगिता १२ टिमको सहभागिता रहेको थियो । यसैबीच प्रतियोगिताको समापन समारोह नेपाली काँग्रेस तुलसीपुर नगर सभापति सुरेश हमालको अध्यक्षता तथा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य दिपक गिरिको प्रमुख आतिथ्यमा भएको थियो । कार्यक्रमको सञ्चालन नेपाली काँग्रेस तुलसीपुर नगर सचिव विमल पौडेलले गर्नु भएको थियो ।





