काठमाण्डौ, ११ जेठ । आईसीसी टी–२० विश्वकप क्रिकेट शुरु हुन केही दिनमात्र बाँकी रहँदा क्यानडाले मुख्य प्रशिक्षक पुबुदु दासानायकेलाई पदबाट बर्खास्त गरेको छ । सन् २०२२ को जुलाई महिनादेखि मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हालेका पुबुदुलाई क्यानडाले पदबाट हटाएको क्रिकेटसम्बन्धी जानकारी दिने वेबसाइट क्रिकबजले जनाएको छ । श्रीलङ्का र क्यानडाका पूर्वखेलाडीसमेत रहेका पुबुदु यसअघि सन् २०११ देखि २०१५ सम्म दुई पटक नेपालको प्रशिक्षक पनि बनेका थिए ।
यस्तै उनी अमेरिकाको प्रशिक्षक पनि बनेका थिए । पुबुदुले क्यानडाको प्रशिक्षकको रूपमा दोस्रो कार्यकाल सम्हाल्दा टोलीलाई छनोट चरण पार गराउँदै यस पटकको टी–२० विश्वकपमा पुर्याएका थिए । क्यानडा क्रिकेट सङ्घमा नयाँ नेतृत्व आएपछि विश्वकपका लागि खेलाडी छनोटको विषयलाई लिएर पदाधिकारी र प्रशिक्षकबीचबीच विवाद देखिएको खबरमा उल्लेख छ । यस्तै केही खेलाडीले प्रशिक्षक पुबुदु दासानायकेप्रति असन्तुष्टि जनाएका बताइएको छ ।।





