२०८३ भाद्र २६ गते शुक्रवार

विकासका गतिविधि बढ्दै गाउँवस्तीमा

सल्यान, २८ फागुन ।  पछिल्लो समय सल्यानका दुर्गम बस्तीमा पनि बिकासका गतिविधि बढ्न थालेका छन् । संघीयता पश्चात गाउँगाउँबाट जनप्रतिनिधि चुनिएपछी बिकासको लहर पनि देखिन थालेको हो । बिस्तारै नागरिकहरुले विकासको अनुभूति पनि गरेको देखिन्छ भने दुर्गमका बासिन्दाहरु आर्थिक तथा सामाजिकरूपले परिवर्तनकोे दिशामा उन्मुख हुँदै गएका छन् । जिल्लाको छत्रेश्वरी गाउँपालिकामा पछिल्लो समय बिकास निर्माणका प्रशस्त काम भएको र यसले सकारात्मक परिवर्तन ल्याएको देखिन्छ । हेर्दा सानो काम देखिएपनी दीर्घकालीन महत्वका निकै राम्रा काम भएको भन्दै स्थानियहरु स्थानिय सरकार प्रती सकारात्मक छन् । स्थानियले कल्पना समेत नगरेको बस्तीमा सडक सुविधा पुर्याउनेदेखी शिक्षा, स्वास्थ्य, पशु सेवा लगायतका महत्वपुर्ण क्षेत्रमा सेवाको पहुँच बाट टाढा रहेका गाउँवस्तीलाइ केन्द्रीत गरेर विभिन्न योजना र कार्यक्रम संचालन भैरहेको छत्रेश्वरी गाउँपालिकाले जनाएको छ । गाउँमै व्यवस्थित रुपले स्वास्थ्य सेवा प्रदान गर्ने उदेश्यले छत्रेश्वरी २ दहखोलाको आधारभुत स्वास्थ्य सेवा केन्द्रमा ६ कोठे पक्की भवन निर्माण कार्य सुरु भएको छ ।

४० लाख रुपैया लागतमा निर्माण हुन लागेको भवनको शिलान्यास गर्दै आइतबार गाउँपालिका अध्यक्ष ओज बहादुर बुढाथोकीले स्वास्थ्य संगै गाउँपालिकाबाट प्रदान गरिने विभिन्न सेवा वडा तथा वस्ती स्तरमै पुर्याउने लक्ष्य अनुसार आफुहरु अघि बढिरहेको बताउनुभएको थियो । स्वास्थ्य संस्थाको भवन अभावका कारणले प्रसुती सेवा केन्द्र सञ्चालन नआउँदा वडा नम्बर २ का गर्भवती महिलाहरु अन्यत्रै वडामा जानुपर्ने बाध्यता रहेको भन्दै वडा अध्यक्ष प्रेम बहादुर नेपालीले जनचाहना अनुरुपको काम गर्ने प्रयत्नमा आफुहरु रहेको बताउनुभयो । यस्तै छत्रेश्वरी ५ को चौरपानीमा पनि भित्री गोरेटो बाटोको स्तरोन्नतिको काम भैरहेको वडा कार्यालयले जनाएको छ । मुख्यमन्त्री रोजगार कार्यक्रम अन्तर्गत चौरपानीबाट तल्लो गाउँ जाने बाटोको सुधार भैरहेको वडा नम्बर ५ का वडा अध्यक्ष तथा छत्रेश्वरी गाउँपालिकाका प्रवक्ता फौद बहादुर बस्नेतले बताउनुभयो । गोरेटो बाटो अफ्ठेरो भएका कारण स्थानियहरुले सास्ती व्यहोर्दै आएकोमा १५ लाख रुपैयाको लगानीमा करिब ६७५ मिटर बाटोमा ढलान र सिढी निर्माण कार्य भैरहेको उहाँको भनाइ छ । यो बाटो निर्माण पछि बिद्यार्थी, कृषक लगायत स्थानीय सबैलाई पैदल हिड्दा सहज हुने अपेक्षा छ । बस्ती बस्तीमा मोटरबाटो पुर्याउने देखि चेतना अभिवृद्धि, सशक्तीकरण, पर्यटन प्रवर्द्धन, कलासंस्कृती संरक्षण लगायतका विभिन्न क्षेत्रमा महत्वपुर्ण काम भैरहेको प्रवक्ता बस्नेतको भनाइ छ ।।

प्रकाशित मिति : २०८० फाल्गुन २८ गते सोमवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।