तुलसीपुर, १० साउन । कपुरकोट गाउँपालिकाले यस चालु आर्थिक वर्षदेखि प्रत्येक वडाबाट सामाजिक सुरक्षा भत्ता वितरण गर्न सुरु गरेको छ । भौगोलिक विकटताका कारण जेष्ठ नागरिकहरु कपुरकोट बजारसम्म पुगेर सामाजिक सुरक्षा भत्ता लिन निकै कठिनाइ भोग्न थालेपछि सहजताका लागि वडाबाटै वितरण सुरु गरिएको पालिका अध्यक्ष दुर्गाबहादुर पुनले जानकारी दिनुभयो । यस अघि जेष्ठ नागरिकहरु घण्टौ हिडेर भत्ता लिन कपुरकोट बजारमा रहेको बैकमा पुग्ने गर्थे ।
वडा वडाबाट सामाजिक सुरक्षा भत्ता पाउन थालेपछि जेष्ठ नागरिकहरु खुशी भएका छन् । कपुरकोट गाउँपालिका–५ सिस्नेरी निवासी ७० वर्षका लोक बहादुर रोकाले पहिलो पटक वडाबाट भत्ता बुझ्दा असाध्यै खुशी लागेको बताउनुभयो । ‘कपुरकोट जान कति दुःख थियो । हिडेर जान गारो । गाडी पाउन मुस्कील । समयको बरबाद । उता घरको काम हराउने । बिहानै गयो साँझ घर फर्किनु पर्ने । वडाबाट भत्ता दिएकोमा सरकारको जय होस ।’ तुलसीपुर खबरसंग टेलिफोनमा कुरा गर्दै रोकाले खुशी हुँदै भन्नुभयो ।
त्रैमासीक रुपमा बुझेको १२ हजार भत्तालाई नुन, तेल, र चोखो मिठो खानका लागि खर्च गर्ने रोकाले बताउनुभयो । हातपाखुरी बसेकाले कमाउन नसीकने बताउँदै रोकाले भत्ताले ठूलो सास धानेको बताउनुभयो । पालिकामा सामाजिक सुरक्षा भत्ता लिनेको संख्या ३ हजार ३ सय १५ जना रहेको पालिका प्रमुख प्रशासकीय अधिकृत भरत कुमार वलीले जानकारी दिनुभयो । यस वर्ष जेष्ठ नागरिकलाई ६ करोड ७६ लाख ११ हजार २७७ रुपैयाँ भत्ता वितरण गरिदै छ । सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखाका इश्वर पुन मगरका अनुसार ६८ वर्ष माथिका जेष्ठ नागरिक ७६७ जना, ६० देखि ६८ वर्षसम्मका दलित १२३, एकल १८५, क वर्गका अपाङ्ग २५, अति असक्त ९२ जना रहेका छन् । त्यसैगरी पोषण सुधार अन्तर्गत पाँच वर्ष मूनिका दलित बालबालिका ३३३ र गैर दलित १५०४ जना रहेका छन् ।
सकारले मासीक रुपमा जेष्ठ नागकिरलाई ४ हजार, दलितलाई २६६०, एकल महिलालाई २६६०, क बर्गका अपाङ्गलाई ३९९०, ख बर्गकालाई २१२८ रुपैयाँ सामाजिक सुरक्षा भत्ता वितरण गदै आइरहेको छ ।त्यसैगरी पाँच वर्ष मूनिका दलित तथा गैर दलित बालबालिकालाई भने पोषण सुधार कार्यक्रम अन्तर्गत ५३२ रुपैयाँ दिदै आएको छ ।





टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।