विमान अवतरण हुनुअघि ढोका खोलिदिने एक जना यात्रु पक्राउ

काठमाडौ, १२ जेष्ठ ।  दक्षिण कोरियामा विमान अवतरण हुनुभन्दा पहिले नै विमानको ढोका खोलिदिएपछि एक जना यात्रु पक्राउ परेका छन् । दक्षिण कोरियाको दक्षिणी टापु जेजुबाट देगु अन्तर्राष्ट्रिय विमानस्थलका लागि उडेको एसियाना एअरलाइन्सको विमानको ढोका खोलिदिएको आरोपमा झन्डै ३० वर्षका पुरुषलाई पक्राउ गरेको स्थानीय प्रहरीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

विमानमा एक सय ९४ जना यात्रु रहेको र ढोका खुले पनि विमान सुरक्षितरूपमा अवतरण भएको बताइएको छ । केही यात्रुले रोक्ने प्रयास गर्दा गर्दै एक यात्रुले विमानको आपत्कालीन ढोका खोलिदिएको दक्षिण कोरियाली यातायात मन्त्रालयलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । श्वासप्रश्वासमा अफ्ठ्यारो भएका यात्रुहरूलाई अस्पताल लगिएको छ । विमानमा बालबालिकाहरू समेत थिए । प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरिसकेको जनाएको छ ।

प्रकाशित मिति : २०८० जेष्ठ १२ गते शुक्रवार
प्रतिक्रिया