उपचुनावः तिन वटै क्षेत्रमा सामान्य घटनाबाहेक शान्तिपूर्ण रूपमा मतदान सम्पन्न

काठमाण्डौ, १० बैशाख । चितवन क्षेत्र नम्बर २, तनहुँ क्षेत्र नम्बर १ र बारा क्षेत्र नम्बर २ को उपचुनावमा सामान्य घटनाबाहेक शान्तिपूर्णरूपमा मतदान सम्पन्न भएको छ । तीन वटै निर्वाचन क्षेत्रमा बिहान ७ बजेदेखि सुरु भएको मतदान बेलुका ५ बजेसम्म चलेको थियो । चितवनका दुई वटा मतदान केन्द्रमा केहीबेर मतदान रोकिँदा बारामा केही व्यक्ति पक्राउ परेका थिए ।

सामान्य घटना भएको भए पनि समग्रमा चुनाव उत्साहपूर्ण र शान्तिपूर्णरूपमा सम्पन्न भएको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले बताउनुभएको छ । यकिन तथ्याङ्क आइनसकेको र प्रारम्भिक विवरणअनुसार चितवन र बारामा ६० प्रतिशत तथा तनहुँमा ५५ प्रतिशतको हाराहारीमा मतदान भएको निर्वाचन आयोगले जनाएको छ ।

तनहुँ–१ बाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति, बारा–२ बाट निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपति भएसँगै त्यहाँ नयाँ सांसदका लागि उप–चुनाव भएको हो । चितवन–२ बाट निर्वाचित रवि लामिछानेको सांसद पद नागरिकता विवादमा सर्वोच्च अदालतले खारेज गरिदिएपछि पुनः चुनाव भएको हो ।

चितवनको उपचुनावमा १२ दल र १० स्वतन्त्र गरी २२ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । बारा–२ मा १० जना राजनीतिक दल र २४ जना स्वतन्त्र गरी ३४ जना उम्मेदवार छन् । यस्तै तनहुँ–१ मा नौ वटा राजनीतिक दलबाट नौ जना उम्मेदवार छन् ।

प्रकाशित मिति : २०८० बैशाख १० गते आइतवार
प्रतिक्रिया