
चिराघाट २६ फागुन नेपाल विद्यालय कर्मचारी परिषद शान्तिनगरले शुक्रबार शान्तिनगर गाउँपालिकालाई ध्यानाकर्षण पत्र बुझाएको छ। कर्मचारी परिषद शान्तिनगरका अध्यक्ष बालाराम ओली, सचिव सुकवीर चौधरी र कर्मचारी परिषद दाङका अध्यक्ष तप्त प्रसाद शर्माको नेतृत्वमा गएको टोलीले शान्तिनगर गाउँपालिकाकी निमित्त प्रमुख प्रशासकीय अधिकृत लेखा भण्डारीलाई आफ्नो ध्यानाकर्षण पत्र बुझाएको हाे ।
ध्यानाकर्षण पत्रमा भनिएको छ सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारी , सहायक सहयोगीले विगत लामो समय देखि न्यून तलवमा काम गरिरहेको र पुरा सुविधाको लागि नेपाल सरकारसँग निरन्तर संघर्षरत रहेको पत्रमा जनाएको छ । साथै संघर्षरत रहेकै अवस्थामा संघीय सरकारको आर्थिक वर्ष २०७९/ ८० को बजेटमा अन्य सबै कर्मचारी तथा शिक्षकहरूको तलब भत्तामा वृद्धि गरियाे तर विद्यालय कर्मचारीहरूको तलब वृद्धि गरिएन ध्यानाकर्षण पत्रमा भनिएको छ।
कर्मचारी परिषद शान्तिनगरका अध्यक्ष बालाराम ओलीले सबै विद्यालयका कर्मचारीहरूलाई संघीय सरकारबाट प्राप्त हुने रकममा शान्तिनगर गाउँपालिका बाट आवश्यक रकम थप गरि समान पदका अन्य कर्मचारी सरह तलब सुविधाको व्यवस्था मिलाइ दिन गाउँपालिका समक्ष जोडदार माग गरिएको अध्यक्ष ओलीले जनाउनु भएको छ। शान्तिनगर गाउँपालिकामा सामुदायिक विद्यालयमा ६ लेखापाल र २६ कार्यालय सहयोगी रहेको जनाएको छ।