एमालेसँग एकता हुँदैन : प्रकाश ज्वाला

दाङ, १६ फागुन । नेकपा एकीकृत समाजवादी का उपमहासचिव प्रकाश ज्वालाले एमालेसँग एकता नहुने बताएका छन् । पार्टी भित्रैको थिचोमिचो सहन नसकेर नयाँ पार्टी बनाएको स्मरण गर्दै ज्वालाले पुनः फेरि थिचोमिचो सहनका लागि एमालेसँग एकता नहुने बताए ।  नेकपा एकीकृत समाजवादी सल्यानको जिल्ला कमिटी बैठकलाई मंगलबार खलङ्गामा सम्बोधन गर्दै ज्वालाले अहिलेकै अवस्थामा कुनै पनि पार्टीसँग एकताको सम्भावना नभएको बताए ।  संसदमा प्रतिनिधित्व गर्ने केही पार्टीसँग एकताको तयारी गरिएपनि तत्कालको लागि त्यो सम्भावना नभएको ज्वालाको भनाई छ ।
तत्काल कुनै पनि पार्टीसँग एकता हुदैन्’ ज्वालाले भने ‘बरु नीति विचार मिल्नेसँग मोर्चाबन्दी गरेर अघि बढ्छौँ ।’

सल्यानबाट निर्वाचित प्रतिनिधिसभा सदस्य समेत रहनुभएका ज्वालाले फुट र विभाजनले कम्युनिस्ट आन्दोलनलाई घाटा भएकाले पार्टी एकता नभएपनि मोर्चाबन्दी गर्नुपर्ने आवश्यक रहेको बताए ।  एकीकृत समाजवादी र एमालेका बिचमा राष्ट्रपति निर्वाचनले केही दुरी घटेपनि बाहिर आशंका गरिएजस्तो एमालेसँग पनि एकता सम्भव नभएको उनले बताए । राष्ट्रपतिको निर्वाचनमा सहयोग गर्नेभन्दै नेकपा एमालेले ढिला गरेर पत्र पठाएको उनले गुनासो गरे । ‘हिजोसम्म हाम्रो पार्टीलाई पार्टी नै नठान्ने एमालेले राष्ट्रपतिको निर्वाचनमा मतभारको आधारमा चौथो शक्तिका रुपमा देखेर नै मत दिनभन्दै पत्र पठाएको हो, तर एमालेले ढिला गरेर पत्र पठायो, केही दिन पहिल्यै पत्र पठाएको भए परिस्थिति फरक हुन्थ्यो होला’ ज्वालाले भने ‘अहिले एमालेबाट राष्ट्रपति पदका उम्मेदवारलाई मत दिनसक्ने अवस्था छैन् ।’

उपमहासचिव ज्वालाले अहिलेकै गठबन्धन भत्काउन केहि शक्ति सक्रिय रहेको दावी गरे । पाँच वर्षसम्म अहिलेकै गठबन्धन कायम रहने दावी गरेका ज्वालाले आफ्नो पार्टी सरकारमा सहभागि हुने वा नहुने बारेमा भने केही खुलाएनन् । विगतका दिनमा जिल्लामा पार्टीलाई बलियो बनाउन धेरै दुःख गरेको बताउदैँ उनले उत्साह र ऊर्जाका साथ पार्टी र संगठन निर्माणमा जोडिदिन नेताकार्यकर्तालाई निर्देशन दिए । बैठकमा पार्टीका जिल्ला इन्चार्ज तथा राष्ट्रियसभा सदस्य उदय बहादुर बोहरा, पार्टीका केन्द्रिय सदस्य भद्रसिंह बुढा, लोक बहादुर डाँगी र शारदा परियार लगायतकाले बोल्नुभएको थियो । पार्टीका जिल्ला अध्यक्ष हरी केसीको अध्यक्षता एवम् जिल्ला उपाध्यक्ष भोला केसीको स्वागत मन्तव्यबाट शुरु भएको बैठकको सहजीकरण पार्टी सचिव रमेश गौतमले गर्नुभएको थियो ।।

प्रकाशित मिति : २०७९ फाल्गुन १६ गते मङ्गलवार
प्रतिक्रिया