
नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवलाई तत्कालीन संविधानसभाका सदस्यले भोट हालेर चुनेका थिए । उनी नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बनेका थिए । एमालेको सिफारिसमा वर्तमान राष्ट्रपति विद्या भण्डारी पनि पहिलोपल्ट यस्तै प्रक्रियाबाट निर्वाचित भएकी थिइन् । यसअघि संसदमा कायम रहेका सदस्यबाट बहुमत प्राप्त गर्ने उम्मेदवार नै राष्ट्रपति हुने व्यवस्था थियो ।
अब कसरी चुनिन्छ राष्ट्रपति ?
तेस्रो कार्यकालदेखि राष्ट्रपतिको चुनाव फरक तरिकाले हुन थालेको छ । नेपालको चौथो राष्ट्रपति चुन्न प्रक्रिया सुरु भइसकेको छ । पहिलो र दोस्रो राष्ट्रपति चुन्दा एउटा मात्रै सदन थियो, त्यसैले संविधानसभा सदस्यले भोट हालेर राष्ट्रपति चुन्थे । अबचाहिँ प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेशसभाका सदस्य मतदाता रहेको निर्वाचन मण्डलले राष्ट्रपतिको चुनाव गर्छ । यससम्बन्धी प्रस्ट व्यवस्था नेपालको संविधानको धारा ६२ मा उल्लेख छ । निर्वाचन मण्डलबाट खसेको जम्मा मतबाट बहुमत हासिल गर्ने व्यक्ति नै राष्ट्रपति बन्नेछ ।
क–कसले हाल्न पाउँछन् भोट ?
प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचित १ सय ६५ र समानुपातिक १ सय १० गरी कुल २ सय ७५ सदस्य छन् । राष्ट्रियसभामा प्रत्येक प्रदेशबाट ३ जना महिला, एक जना दलित र ४ जना खुला गरी ५६ जना निर्वाचित हुन्छन् । मनोनीत ३ जनासहित राष्ट्रियसभामा कुल ५९ सदस्य छन् । यसरी संघीय संसदबाट ३ सय ३४ जनाले राष्ट्रपति चुन्न भोट हाल्छन् । सातवटा प्रदेशसभाबाट कुल ५ सय ५० जना सदस्यले पनि राष्ट्रपति चुनावमा भोट हाल्न पाउँछन् ।
संवैधानिक व्यवस्थाअनुसार ऐन, नियमावली र निर्देशिकाहरूमार्फत राष्ट्रपति निर्वाचनको मतभार तय गरिएको छ । प्रतिनिधिसभा र राष्ट्रियसभाका एक सदस्यको मतभार ७९ छ भने प्रदेशसभाका एक सदस्यको मतभार ४८ छ ।
मतभार के हो ? कसरी निकालिन्छ ?
मतभार निकाल्दा संघीय संसदमा रहेका कुल सदस्य संख्याले नेपालको पछिल्लो जनसंख्यालाई भाग गर्दा आउने भागफल नै संघीय सांसदको मतभार हुन्छ । प्रदेशसभातर्फका कुल सदस्य संख्याले नेपालको पछिल्लो जनसंख्यालाई भाग गर्दा आउने भागफल प्रदेशसभातर्फको मतभार हुन्छ । निर्वाचन आयोगले यसपालि पनि २०६८ सालको जनगणनाकै आधारमा मतभार निकालेको छ ।
यसरी निकाल्दा संघीय संसदका सदस्यको मतभार ७९ हुन्छ । संघका कुल सांसदले दिने मत २६ हजार ३ सय ८६ भोटबराबर हो । यसैगरी, सातवटै प्रदेशसभामा जम्मा ५५० सदस्य छन् । एक प्रदेश सांसदको मतभार ४८ छ । यो भनेको २६ हजार ४ सय भोटबराबर हो । दुवै सदनबाट गरी ८ सय ८४ जनाले भोट हाल्छन्, जुन ५२ हजार ७ सय ८७ मतबराबर हो ।
अहिले राष्ट्रपति हुन कति मतभार ल्याउनुपर्छ ?
अहिले प्रतिनिधिसभामा एउटा सिट रिक्त छ । चितवन– २ बाट निर्वाचित रवि लामिछानेको सांसद पद खारेज भएकाले कुल ३ सय ३३ सांसदले भोट हाल्न पाउँछन् । निर्वाचन आयोगले प्रकाशन गरेको मतदाता नामावलीमा संघीय संसदमा ३ सय ३१ र प्रदेशमा ५५० सदस्य छन् । तर, निलम्बित सांसद अरुणकुमार चौधरीको निलम्बन फुकुवा भइसकेको छ भने फरार सांसद लक्ष्मी कोइरीले पनि भोट हाल्न पाउँदा कुल ३ सय ३३ जना मतदाता हुनेछन् ।
संघीय सांसद एक जनाको मतभार ७९ हुँदा कुल २६ हजार ३ सय ७ मत हुन्छ । यसैगरी प्रदेश सांसद एक जनाको मतभार ४८ हुँदा कुल २६ हजार ४ सय हुन्छ । यसरी दुवै सदनका गरी कुल ५२ हजार ७ सय ७ मत हुनेछ । यो संख्याबाट बहुमत अर्थात् २६ हजार ३ सय ५४ मत हासिल गर्ने उम्मेदवार नै राष्ट्रपतिमा निर्वाचित हुनेछ ।
बहुमत ल्याउन नसके के हुन्छ ?
यदि पहिलो निर्वाचनमा कसैले ५० प्रतिशत मत नल्याए सबैभन्दा बढी मत प्राप्त गर्ने दुई उम्मेदवारबीच पुनः प्रतिस्पर्धा हुन्छ ।
फेरि पनि बहुमत आएन भने ?
दोस्रो चरणमा पनि कसैले बहुमत नल्याए पुनः मतदान हुन्छ । अबचाहिँ जसले कुल सदर मतको सबैभन्दा बढी मत पाउँछ, उही राष्ट्रपति बन्छ ।
कुन दलको कति मतभार ?
संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेससँग १६ हजार २ सय २१, नेकपा एमालेसँग १५ हजार २ सय ३३ र माओवादीसित ७ हजार ७ सय ४५ मतभार छ । यसैगरी, राष्ट्रिय प्रजातन्त्र पार्टीको २ हजार ४ सय ५०, जनता समाजवादी पार्टीको २ हजार १ सय ४५, राष्ट्रिय स्वतन्त्र पार्टीको १ हजार ५ सय १, नेपाल मजदुर किसान पार्टीको २ सय २३ र स्वतन्त्र सांसदहरूको १ सय ९४ मतभार छ ।
निर्वाचन प्रक्रिया कस्तो हुन्छ ?
राष्ट्रपतिको पदावधि सकिनुभन्दा कम्तीमा एक महिनाअघि निर्वाचन हुने गरी मिति तोकेर यसको जानकारी निर्वाचन आयोगले सरकारलाई दिन्छ । राष्ट्रपति निर्वाचन हुने मिति तोकिएको सूचना नेपाल राजपत्रमा प्रकाशन गरिन्छ ।
त्यसपछि आयोगले निर्वाचन कार्यक्रमको सूचना प्रकाशन गर्छ, जसमा उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने, उम्मेदवारको सूची प्रकाशन गर्ने, उम्मेदवारको विरोधमा उजुरी दिने, मनोनयनपत्र जाँच गर्ने, मनोनयन भएको उम्मेदवारको नामावली प्रकाशन गर्ने, उम्मेदवारले नाम फिर्ता लिने, उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र मतदान गर्ने मिति, समय र स्थान उल्लेख गरिन्छ ।