तुलसीपुर, २ फागुन । दाङको संस्कृत विश्वविद्यालयमा निर्मित आयुर्वेद शिक्षण भवन उदघाटनको तयारी पुरा भएको छ । आज विश्वविद्यालयमा पत्रकार सम्मेलनको आयोजना गरेर राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने कार्यक्रमको सम्पुर्ण तयारी पुरा भएको कूलसचिव माधव अधिकारीले जानकारी दिनुभयो । राष्ट्रपतिबाट शिक्षण भवनको उद्घाटन गराउँदा राज्यको ध्यान केन्द्रित हुनुका साथै संस्कृत बाङमयका गतिविधि राष्ट्रिय तथा अन्तरष्ट्रिय रुपमा प्रचारप्रसार सहज हुने अपेक्षा आयोजकले गरेको छ ।
२४ करोड ७२ लाख लागतमा २०७४ मंसिर ३ गते निर्माण कार्य पुरा भएको भवनको एकसय आठवटा कोठा रहेका छन् । भवन निर्माणका लागि २०७० असार १७ गते टुन्नामुन्ना एण्ड आचार्य कन्ट्रक्सन जेभिले विश्वविद्यालयसंग सम्झौता गरेको थियो । निर्माण कार्यपछि एक बर्ष परीक्षणकाल र त्यसपछि कोभिड महामारी आएपछि उक्त भवनलाई कोभिड अस्पतालका रुपमा संचालन गरेपछि उद्घाटनमा ढिलाई भएको कुलसचिव अधिकारीले बताउनुभयो । विश्वविद्यालयमा १२ आंगिक र १२ सम्बन्धन प्राप्त क्याम्पसहरु रहेका छन् ।
हाल यस विश्वविद्यायमा उपाधिमूलक तहगत पाठ्यक्रम अन्तर्गत शास्त्री, आचार्य, र विद्यावारिधि पिएचडी कक्षाका साथै आयुर्वेद स्नातक र शिक्षाशास्त्री बिएड कार्यक्रम सञ्चालित छन् । भवनको उदघाटन कार्यक्रम बिहान साढे १० बजे भएपनि कार्यक्रम स्थलमा १० बजेभित्र पुगीसक्नुपर्ने छ । कडा सुरक्षाको व्यवस्था गरिएको उक्त कार्यक्रममा १० बजेपछि जानेलाई प्रवेशमा रोक लगाइने आयोजकले बताएको छ ।।