स्रोतका अनुसार, राष्ट्रपतिका आकांक्षी वरिष्ठ नेता झलनाथ खनाललाई कसरी किनारा लगाउने विषय पनि लाङटाङको भ्रमणको एजेन्डा छ । असोज १७ गते राष्ट्रिय सभागृहमा भएको घोषणापछि पार्टी एकताका लागि बनाइएको टोलीमा रहेका खनाललाई हटाएर पछि महासचिव ईश्वर पोखरेललाई राखिएदेखि नै खनाल पार्टीमा किनारा पर्दै आएका छन् ।
उमेर पाक्दै गर्दा महासचिव, अध्यक्ष, वरिष्ठ नेता तथा प्रधानमन्त्री पद पाइसकेका खनालले राष्ट्रपतिमा दुई वर्षअघि पनि रहर गरेको एमाले स्रोत बताउँछ । यसपटक पनि खनालले त्यही पदमा आकांक्षा राखेपछि उनलाई किनारा लगाएर राष्ट्रपतिमा विद्या भण्डारीलाई नै दोहो¥याउने मुडमा ओली समूह लागेको पनि स्रोतले बतायो ।
यसो हुँदा बर्दियाबाट पराजित वामदेव गौतम चिढिनसक्ने देखिएपछि अध्यक्ष ओली गौतमलाई कुनै आकर्षक नियुक्तिको अफर गरेर अल्मल्याउने रणनीतिमा लागेको एमालेका एक पोलिटव्यूरो सदस्यले बताए । गौतम क्याम्पका १० सांसद बरिष्ठ नेता नेपाल वा झलनाथ खनालतिर लाग्नबाट रोक्न पनि अध्यक्ष ओलीले विशेष आकर्षक उपहार दिने तयारीमा छन् । नवौँ महाधिवेशनमा पनि संसदीय दलका नेता र कार्यबाहक पार्टी अध्यक्षको लोभ देखाएर गौतमलाई ओलीले आफूतिर पारेका थिए ।
यसो हुँदा बहुमत आफूसँग भएपछि ओली समूह सरकार र पार्टीमा पनि बलियो हुनेछ । अध्यक्षका आकांक्षी नेपाललाई एमालेभित्र थप दबाव बढ्नेछ ।
एमाले स्रोतका अनुसार नेपालपक्षधरका अधिकांश उम्मेदवार विजयी भएर आएको र मन्त्रीको माग भएपछि नेपाललाई कमजोर पार्न खनाललाई तह लगाउने, गौतम रिझाउने अनि नेपाल पक्षका केहीलाई मन्त्री बनाएर नेपाललाई नै समस्या पार्ने विषेश रणनीति तय गर्न ओली कोर टिमसहित लाङटाङ पुगेका हुन् । यसो गर्न सकिएमा पार्टी एकतापछि पनि शक्तिमा रहने अनुमान ओलीको छ ।
यसका लागि आफ्ना विश्वास पात्रहरुसहित आन्तरिक रणनीति तय गर्न लाङटाङ पुगेका हुन् । वाम गठबन्धन एक भएर निर्वाचनमा जाने भएपछि उम्मेदवारी टुंग्याउने क्रममा पनि यो समूहले गोप्य बैठक राखेको थियो ।
कात्तिक १६ गते उम्मेदवारी मनोनयन रहेकाले जितेर आउने उम्मेदवारहरु कुनै पनि हालतमा ओली समूहको भन्दा प्रचण्ड र माधव नेपाल पक्षधरको बढी नपरोस् भनेर कात्तिक ९, १० र ११ गते यो समूहले गोप्य बैठक गरेर नामावली तयार पारिएको थियो । तर, वामदेवका १० सांसदसहित नेपाल र ओली पक्षधर सांसद बराबरी भएपछि अर्को रणनीति बनाउन ओली लाङटाङ हानिएको आशंका गरिएको छ ।
एमालेका शीर्ष नेताहरुले रसुवागढी नाकाको निरीक्षण पनि गरेका छन् ।
टिमुरेमा आयोजितक कार्यक्रममा ओलीले भनेका छन्, ‘देशमा लामो समयको बलिदानी र संघर्षपछि तीव्र परिवर्तनको खाँचो छ । राष्ट्रसेवक र नेपाली जनताले आफ्नो बलिदानी परिवर्तनका लागि दिएकाले अव परिवर्तनको जरुरी छ ।’ रातोपाटीबाट
प्रकाशित मिति : २०७४ पुष ४ गते मङ्गलवार



टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।