सबै सम्झौताहरू खारेज गर्न बतास समुहको सरकारलाई चुनौती

फाईल फोटो

काठमाण्डौ,२८ पुस । पछिल्लो समय विवादित बनेको व्यावसायिक घराना बतास समूहले सरकारलाई आफूसँग गरेका सबै सम्झौताहरू खारेज गर्न चुनौती दिएको छ । समूहका अध्यक्ष आनन्दराज बतासले आज प्रेस विज्ञप्ति जारी गर्दै आफूहरूसँग भएका सम्झौता एकमुष्ट खारेज गर्न सरकार स्वतन्त्र रहेको उल्लेख गर्नु भएको हो ।

‘बतास अर्गनाइजेसनले कानुनसम्मत रूपमा भाडामा लिएर सञ्चालन गरेका सम्पूर्ण व्यावसायिक सम्झौताहरू कानुनबमोजिम रद्द गर्न नेपाल सरकार स्वतन्त्र छ’, विज्ञप्तिमा लेखिएको छ, ‘त्यसैले बतास अर्गनाइजेसनले गरेको लगानी र त्यसको उचित क्षतिपूर्तिसहित आजकै मितिमा यदि सरकारले सम्पूर्ण सम्झौताहरू एकमुष्ठ खारेज गर्छ भने पनि हामीलाई कुनै आपत्ति नरहने कुरा समेत यहाँहरूमार्फत आम जनसाधारण र सरोकारवाला सबैलाई जानकारी गराउन चाहन्छौँ।’ नारायणहिटी संग्रहालयभित्रबाट बतास समूहलाई बनाएका सम्पूर्ण व्यापारिक संरचना सरकारले हटाइसकेको छ ।

प्रकाशित मिति : २०७८ पुष २८ गते बुधवार
प्रतिक्रिया