बाँकेमा वडा अध्यक्ष र कार्यपालिका सदस्यबिच बैठकमै हात हालाहाल

बाँके,११ असोज । नेपालगञ्ज उपमहानगरपालिकाको बोर्ड बैठकमा खर्चका विषयलाई लिएर हात हालाहाल भएको छ । सोमबार दिउँसो वडाध्यक्ष र कार्यपालिका सदस्यका बीचमा बैठकमै हात हालाहाल भएका बताइएको छ । कार्यपालिका सदस्यलाई खर्च गर्न दिइएको बजेट पारदर्शी रुपमा खर्च नभएको वडाध्यक्षहरुको गुनासोपछि कार्यपालिका सदस्य र वडा अध्यक्षबीच हात हालाहाल भएको हो ।

सो क्रममा वडा नम्बर ६ का अध्यक्ष समीरप्रताप सिंहको आँखामा चोट लागेको बताइएको छ । उपमहानगरपालिकाकी उपमेयर उमा थापा मगरले बोर्डको खर्चको बिषयलाई लिएर विवाद भएको बताइएको छ । यसअघिको बोर्ड बैठकले कार्यपालिका सदस्यले दलित, गरिब, विपन्न समुदायलाई १२ लाख रुपैयाँ खर्च गर्ने अख्तियारी दिएको रकम पारदर्शी रुपमा खर्च नभएको वडा अध्यक्षहरुले बताएपछि विवाद भएको बताउनुभयो । बैठकमा वडा नं. ५ का अध्यक्ष कैफुलबराह जोलाहा र कार्यपालिका सदस्य देउमल सुनारबीच तानातान भएको थियो । उनीहरुलाई छुट्याउने क्रममा वडा नं. ६ का अध्यक्ष सिंहको आँखामा चोट लागेको बताइएको छ । विवाद गर्ने वडा अध्यक्ष राप्रपाका र कार्यपालिका सदस्य माओवादी केन्द्रका रहनुभएको छ ।

प्रकाशित मिति : २०७८ असोज ११ गते सोमवार
प्रतिक्रिया