केन्द्रीय कमिटी बैठक १० दिनका लागि स्थगित गर्ने माओवादी केन्द्रको निर्णय

काठमाण्डौ, १७ साउन । नेकपा माओवादी केन्द्रले साउन २० गते तय भएको केन्द्रीय कमिटी बैठक १० दिनका लागि स्थगित गरेको छ । माओवादीको स्थायी कमिटीको आईतवारको बैठकले वर्तमान राजनीतिक गतिविधि र तयारी पूरा नभएकाले केन्द्रीय कमिटी बैठक सार्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । पछिल्ला राजनीतिक घटनाक्रम र तयारीका लागि आवश्यक समय लिनुपर्ने देखिएकाले केन्द्रीय कमिटीको बैठक यसघि साउन २० गतेदेखि बस्ने निर्णय गरेकोमा साउन ३० गते सुरु हुनेगरी स्थगित गरिएको प्रवक्ता श्रेष्ठले बताउनुभयो ।

यस बीचमा सबै वडा कमिटी गठन गर्न र त्यसको अद्यावधिक विवरण केन्द्रीय कमिटी बैठकमा आउँदा ल्याउनका लागि पनि सदस्यहरूलाई निर्देशन दिने निर्णय भएको श्रेष्ठले जानकारी दिनुभयो । सबै प्रदेश कमिटीहरूलाई वडा कमिटी गठन गर्न र त्यसको अद्यावधिक विवरण केन्द्रीय कमिटीको बैठकमा आउँदा केन्द्रीय कमिटीका सदस्यहरूले सम्बन्धित प्रदेशबाट लिइ आउन निर्देशन दिने निर्णय गरेको उहाँले बताउनुभयो ।

त्यस्तै, बैठकमा लुम्बिनी प्रदेशमा मुख्यमन्त्री शंकर पोखरेलको सरकारले संविधानका मूल्य मान्यताका विरुद्ध गतिविधि गरेको भन्दै आलोचना भएको छ । प्रतिनिधिसभा र वर्तमान सरकारलाई पूरा कार्यकाल चलाउनका लागि गठबन्धनले विगतमा गरेका प्रतिबद्धता अनुसार अगाडि बढ्ने निर्णय भएको पनि उहाँले बताउनुभयो ।

प्रकाशित मिति : २०७८ साउन १७ गते आइतवार
प्रतिक्रिया