शिक्षक महासंघद्धारा ७५३ वटै पालिकामा रिले अनसन

दाङ, १५ साउन । नेपाल शिक्षक महासंघले ७५३ वटै पालिकामा रिले अनसन गरेको छ । सोहि अनुसार दाङका पालिकाहरुमा पनि महासंघले अनसन गरेको छ । तीनजना शिक्षक मात्रै सहभागी भएर पालिकामा रिले अनसन बसेको शिक्षक संघ तुलसीपुर नगर अध्यक्ष लेबेन्द्र केसीले जानकारी दिनुभयो । यस्तै ७७ वटा जिल्लामा रिले अनसन भएको छ । जहाँ ५ जना शिक्षक बसेका छन भने ७ प्रदेशमा १० जना रिले अनसनमा बसेकोे महासंघका केन्द्रीय महासचिव लक्ष्मीकिशोर सुवेदीले जानकारी दिनुभयो ।

महासंघले मागेको खोपको व्यवस्थापन बाहेक अन्य मागको कुनै सम्बोधन नभएको महासचिव सुवेदीले बताउनुभयो । विभिन्न माग राखेको र दबाब दिन वैशाख २० बाट चौथो चरणको आन्दोलन गरिरहेको भन्दै सरकारले पूर्णता नपाएकोले शिक्षा मन्त्री पनि नभएको अवस्थामा केही दिनभित्र प्रधानमन्त्रीलाई भेटेर दबाबमुलक काम गर्ने बताउनुभयो ।आगामी शुक्रबार शिक्षक महासंघले शिक्षा विकास तथा मानव स्रोत विकास केन्द्रमा धर्ना दिने तयारी गरेको छ । शिक्षकको मागको सम्बोधन नभएमा सबै ठप्प पारेर राजधानी केन्द्रित भई निर्णायक आन्दोलन गर्ने महांसघले चेतावनी दिएको छ ।

प्रकाशित मिति : २०७८ साउन १५ गते शुक्रवार
प्रतिक्रिया