प्रचण्ड र नेपाललाई वैद्यको सुझाबः प्रधानमन्त्रीको लोभ त्यागौं

काठमाण्डौ ८ साउन । नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य किरणले संसद् र सरकारमा रहेका कम्युनिस्टहरूलाई मिलेर जान आग्रह गर्नुभएको छ । ४३ औँ पुष्पलाल स्मृति दिवसको उपलक्ष्यमा आयोजित नेपाली कम्युनिस्ट आन्दोलनको वर्तमान सङ्कट र आगामी बाटो विषयक प्रवचन कार्यक्रममा अध्यक्ष वैद्यले यस्तो बताउनुभएको हो । अध्यक्ष वैद्यले नेपालमा क्रान्तिकारी धारका पार्टीहरू एक हुनुपर्ने बेला आएको बताउँदै नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई प्रधानमन्त्रीको लोभ त्यागेर नागरिकको सेवामा लाग्न पनि सुझाव दिनुभयो ।

उहाँले भन्नुभयो, ‘सरकारमा र संसदमा भएका कम्युनिस्टहरू एक ठाउँमा बस्नुपर्छ र सडकमा भएका कम्युनिस्टहरू पनि एक ठाउँमा उभिनुपर्छ, संसद् र सरकारमा भएका कम्युनिस्टहरूले सडकमा भएका कम्युनिस्टहरूलाई दमन गरेर जानुभएन । प्रचण्डजी र माधव नेपालजी यही संसदीय व्यवस्थाबाट कति पटक प्रधानमन्त्री बन्नुहुन्छ के, प्रधानमन्त्रीको लोभ र मोह त्याग्नुस् अनि नागरिकका लागि काम गरौँ । त्यस्तै अध्यक्ष वैद्यले ओलीको कार्यशैली स्वेच्छाचारी देखिएको उल्लेख गर्नुभएको थियो ।

 

प्रकाशित मिति : २०७८ साउन ८ गते शुक्रवार
प्रतिक्रिया