काँग्रेसको महाधिबेशनमा डिजिटल प्रबिधिबाट मतदान गर्ने व्यवस्था मिलाईदै

काठमाण्डौ, ५ साउन ।नेपाली काँग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागले जिल्लाबाटै डिजिटल माध्यमबाट मतदान गर्न मिल्ने प्रविधिको विकास गरेको छ । १४ औं महाधिवेशनलाई लक्षित गरी यो प्रविधि तयार गरिए पनि प्रयोग गर्ने वा नगर्ने बारे केन्द्रीय समितिले निर्णय गर्नुपर्ने छ । विभागका संयोजक एवं पार्टीप्रवक्ता विश्वप्रकाश शर्माले केन्द्रीय समितिले आवश्यक ठानेमा डिजिटल भोटिङका लागि प्रविधि तयार रहेको बताउनुभएको छ ।

विभाग सचिव दिनेश थापा मगरले आज विज्ञप्ति निकालेर कोरोना महामारीका कारण भौतिक उपस्थितिमा महाधिवेशन गर्न नसकिने अवस्था आएमा जिल्लाबाटै मतदान गर्न सक्ने गरी प्रविधि तयारी अवस्थामा राखिएको जानकारी दिनुभएको छ । केन्द्रीय समितिले जरुरी ठहर गरेर निर्णय गरेका खण्डमा शून्यबाट शुरु गर्नुनपर्ने गरी प्रविधिको विकास गरिएको उहाँले बताउनुभयो ।

सचिव थापाका अनुसार ७७ जिल्ला पार्टी कार्यालयमा उपस्थित भएर प्रदेश अधिवेशन र महाधिवेशन प्रतिनिधिले मतदान गर्न सक्ने गरी प्रविधि विकास गरिएको छ । प्रविधि मार्फत १४ औं महाधिवेशनमै केन्द्र र ७ प्रदेशको निर्वाचन सम्बन्धी सबै प्रक्रिया सम्पन्न गर्न सकिने क्षमता भएको विज्ञप्तिमा भनिएको छ । काँग्रेसले वेवसाइटबाटै पार्टी सदस्यता लिन मिल्ने व्यवस्था गरेको छ । काँग्रेसको १४ औं महाधिवेशन भदौ १६–१९ सम्म काठमाडौंमा हुने भनिएको छ ।

प्रकाशित मिति : २०७८ साउन ५ गते मङ्गलवार
प्रतिक्रिया