ओलीको हत्या गर्ने कांग्रेस नेताको अभिव्यक्ति प्रति एमालेको आपत्ती

काठमान्डौ, २९ जेठ । नेपाली कांग्रेसका नेता नरोत्तम वैद्यले प्रधानमन्त्री केपी शर्मा ओलीको हत्या गर्न दिएको धम्कीलाई आपराधिक, अत्यन्त आपत्तिजनक र निन्दनीय भएको नेकपा एमालेले बताएको छ ।
बागमती प्रदेशसभा सदस्य समेत रहेका वैद्यले प्रदेशसभा बैठकमा दिएको वैद्यको अभिव्यक्तिको भर्त्सना गर्दै एमालेले यो विषय मुलुकको फौजदारी कानुन समेत आकर्षित हुने विषय भएको पनि ध्यानाकर्षण गराएको हो ।

पार्टीका प्रवक्ता प्रदीप ज्ञवालीले जारी गरेको विज्ञप्तिमा बागमती प्रदेशसभाको हिजोको बैठकमा एकजना सदस्यले सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीको हत्या गर्न दिएको धम्कीलाई नेकपा (एमाले) ले अत्यन्त गम्भीर रुपमा लिएको छ । प्रधानमन्त्रीको हत्याका लागि अरुलाई समेत दुरुत्साहन गर्ने र आवश्यक परे आफै पनि हत्याका लागि तयार रहेको निजको अभिव्यक्ति आपराधिक, अत्यन्त आपत्तिजनक र निन्दनीय छ भनिएको छ ।

नेपाली काँग्रेसका प्रदेश सांसद वैद्यले बागमती प्रदेश सभामा बोल्दै प्रधानमन्त्री केपी ओली विरुद्ध नाथुराम गोड्से हुन तयार रहेको बताउनुभ भएको थियो । नाथुराम गोड्से ती व्यक्ति हुन् जसले भारतमा महात्मा गान्धीलाई गोली हानेर हत्या गरेका थिए ।

प्रकाशित मिति : २०७८ जेष्ठ २९ गते शनिवार
प्रतिक्रिया