मेयर पाण्डे भन्छन – “नपढाउने शिक्षकलाई तलव दिए हेडसर लाई कारवाही”

प्राविधिक शिक्षाका लागि १० वटा विद्यालयमा १० लाखका दरले अनुदान 
ओपेन्द्र बस्नेत,तुलसीपुर ६ भदौ ।
विद्यालयमा अहिले सम्म चार पटक चोरी भयो । तर चोर पत्तालागेको छैन् । आठ दश कक्षा पढ्दै गरेका केटाहरुले रक्सी, चुरोट, सूर्ति, गाँजा जस्तो दूव्र्यसनीमा फसेर गाउँ बरबादै बनेको छ । सम्झाउँदा आफै कुटाई खाईएला भन्ने डर ! प्राथामिक विद्यालय छोटेका प्रधानाध्यापक नारायण भण्डारीको दुःखेसो हो यो । ‘सोमबार राति जम्मा भएका केटाहरुले स्कुलको तालाफोडेर कोठमा बसेर गाँजा खाएछन्, बसेको बेन्च नै उठाएर खोलामा लगेर फालेछन्,– ‘प्रअ भण्डारीले भन्नुभयो’–शान्ति सुरक्षाको पनि व्यवस्था मिलाउनु प¥यो मेयरसाव ।’

सार्वजनिक शिक्षा सुधारको सन्र्दभमा तुलसीपुर उप महानगरपालिकाले मंगलबार तुलसीपुरमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा प्रावि छोटेको जस्तै समस्या माध्यामिक विद्यालय अश्वाराले पनि अघि सा¥यो । ‘पढाउँदा पुरै कोठा गन्धआउँछ, चुरोटका ठुटा मात्रै यत्रतत्र फयाँकिएका हुन्छन, –‘प्राधानाध्यापक हिरालाल न्यौपानेले भन्नुभयो,–‘यो समस्याले हामी पनि हैरानभएका छौ ।’ यी सवै प्रकारका चिन्तनको एउटा मात्रै उद्देश्य थियो शैशिक्षक गुणस्तर कसरी सुधार गर्ने ?

तुलसीपर उप महानगरपालिका क्षेत्रमा रहेका ८४ विद्यालयका प्रधानाध्यापकमा शैक्षीक गुणस्तरका लागि देखिएका चुनौति र समाधानको पाटोमा व्यापक छलफल भएको थियो । कार्यक्रममा प्रावि, निमावि र माध्यामिक विद्यालयबाट प्रतिनिधीत्व गरेर आएका प्रधानाध्यापकहरुले आ–आफना विद्यालयका समस्यका बारेमा उप महानगरपालिकाई जानकारी गराएका थिए ।

यता तुलसीपुर क्षेत्रलाई शिक्षाको रुपमा विकास गर्ने लक्ष्यका साथ मेट्रो कलेजको अवधारणा अघि सारेको तुलसीपुर उप महानगरपालिकाले व्यरोजगार उत्पादनगर्ने शिक्षाको आवश्यकता नभएको भन्दै जिवन उपयोगी र संस्कार युक्त शिक्षाको आवश्यक रहेको बताएको छ ।
जिवन उपयोगी शिक्षा नहुँदा बर्तमान शिक्षाले व्यरोजगार उत्पादन गर्दा साथीभाइको लहलहैमा लागेर कूलतमा लाग्ने युवाजमातको संख्या बढ्दै गएको नगर प्रमुख घनश्याम पाण्डेले बताउनुभयो । शिक्षा आर्जनपछि स्वरोजगार बनाउनका लागि प्राविधिक शिक्षामा नगरपालिकाले एक करोड रकम छुट्याएको छ ।

‘विद्यालयमा अनुपस्थित हुने, हाजिर नगर्ने, आएर पनिविद्यार्थीलाई नपढाउने शिक्षकलाई तलव दिनुभयो भने हेडसरलाई कार्वाही हुन्छ, – ‘नगर प्रमुख पाण्डेले भन्नुभयो’– धम्कीआयो भने हामीलाई भन्नुस सुरक्षाको व्यवस्था हामी मिलाउँछौ तपाईहरु शिक्षाको गुणस्तर सुधार्न लाग्नुस ।’प्राविधिक शिक्षाका लागि १० वटा विद्यालयमा १० लाखका दरले बजेट विनियोजन गर्ने गरि नगरपालिकाले तयारी थालेको छ ।
प्रयाप्त श्रोतसाधनका बाबजुत पनि शिक्षा सुधारमा ध्यान नदिने विद्यालयलाई डण्डा लगाइने उपमहानगरपालिकाले चेतावनी दिएको छ ।

तुरुन्तै कार्वाही नगर्ने तर अटेर गरि शिक्षा सुधारमा ढिलाई गर्ने विद्यालयलाई कार्वाहीको दायारामा ल्याउने नगरपालिका बताएको छ । बालमैत्री, अपाङ्गमैत्री, महिलामैत्री, जेष्ठ नागरिक मैत्री बनाउने विद्यालयललाई विशेष अनुदानको व्यवस्था समेत उपमहानगरपालिकाले गरेको छ । कार्यक्रमा तुलसीपुर उपमहानगरपालिकाका कार्यकारी अधिकृत टोपेन्द्र केसीले उपमहानगरले शिक्षकको तलव सुविधा र प्रशासनिक खर्च विद्यालयमा निकासा गर्ने प्रक्रियाका वारेमा जानकारी गराउनु भएको थियो ।

कार्यक्रमका विशिष्ट अतिथि जिल्ला शिक्षा अधिकारी रमेशप्रसाद मैनालीले शिक्षकहरुलाई पढाउनमा भन्दा पनि दरवन्दी मिलानमा वढि चासो हुनु दुखको कुरा भएको वताउदै शिक्षकहरु अनुशासित भए मात्रै विद्यार्थीहरु अनुशासित हुने पनि वताउनुभयो ।

सो अवसरमा श्रोत व्यक्ती विष्णु कुमारी केसीले शिक्षमा पहँुच, विद्यार्थीको नियमितता, जिवन उपयोगी शिक्षा, भौतिव पूर्वाधारको व्यवस्थापन, अभिभावक र शिक्षकको भूमिका लगाएतका बारेमा जानकारी गराउनुभएको थियो । गुरु जजुर मावि रक्षाचौरका प्रधानाध्यापक विष्णुप्रसाद आचार्यको अध्यक्षतामा भएको कार्यक्रमको सहजिकरण श्रोत व्यक्ति मुकुन्द रिजालले गर्नुभएको थियो ।

प्रकाशित मिति : २०७४ भाद्र ६ गते मङ्गलवार
प्रतिक्रिया