एमाले अध्यक्ष ओलीलाई नेता नेपालको आरोप सहितको स्पष्टकिरण जवाफ

काठमाण्डौ, १३ चैत ।एमाले वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई उल्टै प्रश्न गर्दै स्पष्टीकरणको जवाफ दिनुभएको छ । नेता नेपालले अध्यक्ष एवम् प्रधानमन्त्री ओलीलाई १३ प्रतिप्रश्न गर्दै पत्र लेख्नुभएको हो ।पार्टी कार्यालयका सचिव ईश्वरी रिजालले पत्र आएको जानकारी दिनुभयो । पत्रमा नेपालले ओलीबाट आफूलाई आएको स्पष्टीकरण पत्र अध्ययन गर्दा स्वयम् ओलीले आफूलाई जवाफ दिनुपर्ने खालको रहेको बताउनुभएको छ ।

‘नेपाल कम्युनिष्ट पार्टी (ने क पा) को विधान र नीतिविपरीत तपाईंले उक्त प्रकार अनाधिकृत गतिविधि गरेकोमा त्यस्ता गलत कार्यलाई रोक्न पार्टीमा संस्थागत रुपमा भएका काम र तपाई स्वयंको हस्ताक्षरमा कार्यकारी अधिकार प्राप्त अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ समेत संलग्न कार्यक्रममा मेरो सहभागितालाई कसैको ‘मतियार’ भएको देख्नु तपाईको व्यक्तिवादको अभिव्यक्ति मात्र हो भनी किन नभन्ने ? यदि तपाईको जस्तो दृष्टिकोण राख्ने हो भने पार्टी एकताको पूर्व सन्ध्यादेखि प्रतिनिधि सभाको विघटनसम्मको अवधिमा तपाईले पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग गर्नुभएका सम्झौता, निरन्तर गर्ने गरेको गोप्य बैठक र सहकार्यको आधारमा तपाई नै उहाँको सबभन्दा ठूलो ‘मतियार’ हो भन्न सकिन्न र ? तर यस्तो दृष्टिकोण ममा छैन,’ नेपालको जवाफ छ ।

केन्द्रीय कमिटी बैठक विधिवत बोलाएर किन छलफल नगरेको भन्ने प्रश्न नेपालले ओलीलाई पत्रमा गर्नुभएको छ । एमाले केन्द्रीय कमिटी बैठक नबोलाएर सर्वोच्च अदालतको आदेशको अवज्ञा गरेको आरोप नेपालको छ । चैत ९ गते केन्द्रीय कार्यसमितिको निर्णय अनुसार महासचिव ईश्वर पोखरेलले ४ नेतालाई स्पष्टीकरण सोध्नुभएको थियो ।यसैबीच, नेकपा एमालेका नेता भीम रावलले पनि अध्यक्ष केपी शर्मा ओलीमाथि विभिन्न आरोप लगाउँदै स्पष्टिकरण पठाउनुभएको छ ।पार्टीलाई १४ बुँदै स्पष्टीकरण पठाउँदै अध्यक्ष केपी ओलीमाथि उहाँले विभिन्न आरोप लगाउनुभएको छ ।

प्रकाशित मिति : २०७७ चैत्र १३ गते शुक्रवार
प्रतिक्रिया