आम निर्वाचनमा जानुपर्छ : कांग्रेस नेता महत

तुलसीपुर, ४ फागुन । नेपाली कांग्रेसका केन्द्रिय सहमहामन्त्री डा. प्रकाश शरण महतले आम निर्वाचनमा जानुको विकल्प नभएको बताउनुभएको छ । नेपाली कांग्रेस दाङ क्षेत्र नं ३ को पार्टी कार्यालयमा भएको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै महतले नेपाली कांग्रेसका लागि उपयुक्त समय भएकाले यो ठूलो अवसर भएको बताउनुभयो । आम निर्वाचनमा जुट्न र त्यसका लागि तयारी गर्न पार्टी नेता तथा कार्यकर्तालाई महतले आग्रह समेत गर्नुभयो ।

‘नेपाली कांग्रेसले संसद विघटन गरेको भए नेकपाले संसद पुर्नस्थापना नभई चुनावमा जाने रडाको मच्चाउने थियो । किनकी ५ बर्ष दिएको म्यान्डेड पुरा गर्न नसकेर फेल भएको सरकारले चुनावमा जनमत ल्याउन सक्ने थिएन,’ सहमहामन्त्री डा. महतले भन्नुभयो तर हामी निर्वाचन भन्दा पुर्नस्थापना तर्फ लाग्यौ ।’

संविधान पुर्नस्थापना भएपनि देशको अन्यौल नहटेको र सर्वोच्चको फैसलापछि केपी ओली नेतृत्वको सरकार झनै बलियो भएकाले कांग्रेसको लक्ष्य भनेको आम निर्वाचनमा जानुनै भएको बताउनुभयो । तत्तकाल चुनावमा जाँदा नेपाली कांग्रेस नै पहिलो पार्टी हुने दाबी गर्दै महतले त्यसका लागि पार्टी बलियो हुन आवश्यक रहेको बताउनुभयो ।

आफुभित्र प्रतिस्पर्धा हुनु भन्दा पनि विपक्षी पार्टीसंग प्रतिस्पर्धा गर्नुपर्ने भन्दै महतले अहिलेको आफुहरुको लक्ष्य भनेको कम्युनिष्ट पार्टीलाई हराउने मुख्य योजना भएको बताउनुभयो । विश्वभरबाट बिलाउँदै गएको कम्युनिष्ट पार्टी नेपालमा दुईतिहाईको बहुमत ल्याएर कहिनभएको जात्रा भएको बताउँदै जसरी भएपनि आगामी चुनावमा सबै मिलेर कम्युनिष्टलाई हराउनु पर्ने बताउनुभयो । बाहिर जुट्ने र भित्र फुट्ने कांग्रेस पार्टीको प्रवृतिका कारण यो हालतमा पार्टी पुगेको बताउनुभयो ।

फरक प्रसंगमा नेता महतले सरकारमा जानकालागि अहिले हतार गर्न नहुने बताउनुभयो । कम्युनिष्ट फेल भएर हात उठाएको बेलामा संसदीय अंकगणितमा लागेर सरकार जानका लागि उपयुक्त समय नभएको बताउनुभो ।

‘कांग्रेस किन सरकारको नेतृत्व गर्न तयार छैन ? भन्ने तपाईहरुको जुन प्रश्न छ । हामीलाई हुनेनहुने सर्तहरु पुरा गरेर, चलखेल गरेर सरकारमा जानु छैन । हातखुट्टा बाँधेर नेतृत्व गर्नुछैन । हामीसंग अंकगणित पनि छैन । सरकार चलाउन अंकगणित चाहिन्छ । मधेसवादी दल तथा माओवादीको पुरै समर्थन चाहिन्छ । त्यसका लागि उनिहरुका सर्त पालना गर्नुपछ ,’ महतले भन्नुभयो ‘त्यसैले सभापति देउवाजी अघि नसर्नु भएको हो । यदि विना सर्त हो भने हामी सरकारमा जान तयार छौ । चुनावी नेतृत्व गर्न हामी तयार छौ । ’

क्षेत्रीय अध्यक्ष जगत बहादुर खड्काकाे अध्यक्षतामा भएको कार्यक्रममा कांग्रेस दाङका सभापति कृतिबहादुर खड्का, नेता राजीव विक्रम शाह, क्षेत्रीय उपसभापति प्रमोद बस्नेत , कांग्रेस नेतृहरु रेखा बस्नेत, सुष्मा गिरी, देवा बस्नेत, तरुण दलका मुक्ति न्यौपाने, चिन्जिवि पौडेल, चित्रा गिरी लगाएतले बोलेका थिए । कार्यक्रमको संचालन सचिव चुडमणी ढकालले गर्नुभएको थियो ।

प्रकाशित मिति : २०७७ चैत्र ४ गते बुधवार
प्रतिक्रिया