चुनाव चिह्न विवादः निर्वाचन आयोगले माग्यो थप कागजात

काठमाडौ, १८ पुस । निर्वाचन आयोगले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहले पेस गरेको कागजातमा केही अपुग भएको भन्दै थप कागजात माग गरेको छ । सत्तारूढ दल नेकपा दुई समूहमा विभाजन भएपछि दुईमध्ये कुन पक्ष आधिकारिक हुने र चुनाव चिह्न कसले पाउने भन्ने बारेमा बहस र विवाद भइरहेको छ ।

प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली समूहले आफूहरू नै आधिकारिक पार्टी भएको र चुनाव चिह्न सूर्य आफूहरूकै हुने दाबी गर्दै आइरहेको छ । अर्का अध्यक्ष प्रचण्ड र माधव नेपाल समूहले पनि आफूहरू नै आधिकारिक पार्टी भएकाले सूर्य चिह्न आफूहरूले नै पाउनुपर्ने दाबी गर्दै आइरहेका छन् ।

निर्वाचन आयोगले भने आवश्यक कागजातको अभावमा यससम्बन्धी छानबिन अघि नबढाइएको प्रस्ट पारेको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आवश्यक कागजातको अभावमा पार्टी आधिकारिता र निर्वाचन चिह्नबारे छानबिन अघि बढाउन नसकिएको बताए ।

नेकपाका प्रचण्ड र नेपाल समूहले आधिकारिता र चुनाव चिह्नको दाबी गर्दै पत्र दर्ता गरे पनि केही कागजात अपुग भएकाले त्यस सम्बन्धमा अध्ययन नथालिएको प्रमुख निर्वाचन आयुक्त थपलियाले जानकारी दिए ।

प्रकाशित मिति : २०७७ पुष १८ गते शनिवार
प्रतिक्रिया