तुलसीपुर, ३ पुस । नेपाली कम्युनिष्ट आन्दोलनका एक अथक योद्धा श्रीमणी आचार्यलाई नेपाल कम्युनिष्ट पार्टी नेकपाले यसपटक विर्सीएको छ । बर्ष दिनमा एक पटक लाजकाज आचार्यको स्मृति दिवस मनाउने पार्टीले यो पटक भने कतै पनि कार्यक्रम नगरेर विर्सीएको कार्यकर्ताहरुले बताएका छन् ।
‘ठूलै कार्यक्रम गर्न नसकेपनि कोठामा भएपनि गरेको भए हुनेथियो,’ तत्कानिल समयमा स्वर्गीय श्रीमणी आचार्यका अत्यन्तै विश्वासपात्र मानिएका नेकपाका युवा नेता मानबहादुर रावतले भने–‘सत्तामा पुगेपछि पार्टीले विर्सीयो । अत्यन्तै दुःखद कुरा हो ।’
सत्तामा नहुँदा पूर्वप्रधानमन्त्री, माधवकुमार नेपाल, परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवाली, लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेल प्रमुख अथिति भएर विगतमा श्रीमणीको स्मृति दिवस मनाएपनि अहिले सत्तामा हुँदा कार्यक्रम नै नगर्नु एउटा कम्युनिष्ट आन्दोलनका अथक योद्धामाथि ठूलो अन्याय भएको युवा नेता रावतले दुखेसो पोखे ।
यता नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सचिव सुवास पुनले पनि कार्यक्रम नभएको स्वीकार गरे । ‘म पनि देउखुरीतिर झरेको थिए । मैले पनि त्यति मेसो पाईन,’ सचिव पुनले भने–‘ कार्यक्रम भएको भए त फेसवुकमा आउने थियो । भएन होला ।’
यता अर्का नेता हुकम बस्नेतले पनि लरबराउदाे जवाफ दिदै आफुलाई पार्टीले जिम्मेवारी नदिएको र आफुले पनि नगरेको बताए । स्वर्गीय आचार्यको २०६४ पुष ३ गते मदन मेमोरियल अस्पताल काठमान्डौमा उपचारका क्रममा निधन भएको थियो ।
२०५१ कार्तिक १७ गते मध्यावधी चुनामा बिजौरीमा भएको तत्कालिन एमालेको जुलूसमा कांग्रेस कार्यकर्ताले हानेको गोली लागेर घाइते भएका आचार्यको क्यान्सरका कारण मृत्यु भएको थियो ।


















