चीन : विषालु ग्यास चुहिँदा १८ जना मजदुरको मृत्यु

सांकेतिक फाईल फोटो

काठमाण्डौ,२० मंसिर ।चीनको दक्षिण पश्चिममा रहेको एउटा कोइलाखानीमा विषालु ग्यास चुहिँदा कम्तीमा १८ जना मजदुरको ज्यान गएको छ ।खानीमा काम गर्ने पाँच जना मजदुर हराइरहेका र एक जनाको जीवितै उद्धार गरिएको खबरमा उल्लेख छ ।

चुङ्चिङमा रहेको कोइलाखानीमा कार्बन मनोक्साइड चुहिएको र घटनाको छानबिन सुरु भइसकेको छ । कामदारहरूले भूमिगत उपकरण फुकाल्न खोज्दा ग्यास चुहिएको अनुमान गरिएको छ । कोइलाखानी खानी दुई महिनादेखि बन्द थियो ।

गएको सेप्टेम्बर महिनामा चुङ्चिङमा रहेको अर्को खानीमा आगो लाग्दा १६ जनाको ज्यान गएको थियो । अघिल्लो वर्ष डिसेम्बरमा पनि ग्वेजो प्रान्तमा रहेको कोइलाखानीमा विस्फोट हुँदा १४ जनाको ज्यान गएको थियो ।

 

प्रकाशित मिति : २०७७ मङ्सिर २० गते शनिवार
प्रतिक्रिया