हुम्ला,४ मंसीर । लामो समयको बन्दाबन्दीपछि कात्तिक दोस्रो हप्ताबाट सञ्चालनमा आएका हुम्लाका शैक्षिक संस्थाहरु विहिवार देखि फेरि बन्द गरिएको छ । कोरोना भाइरस सङक्रमणको जोखिमलाई मध्यनजर गर्दै मङंसिर ४ गतेदेखि जिल्लाका सातवटै स्थानीय तहमा रहेका सबै सामुदायिक तथा संस्थागत विद्यालयमा अर्को व्यवस्था नहुँदासम्मका लागि पठनपाठन बन्द गरिएको हो ।
बुधवार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समितिको बैठकले विहिवार देखि जिल्लाभरका शैक्षिक संस्था बन्द गर्ने, बाहिरी जिल्लाबाट आउनेहरुलाई प्रवेशमा रोक लगाउने, अन्तरपालिका आवतजावतमा समेत कडाइ गर्ने लगायतका निर्णयहरु गरेको छ ।
उत्तरी नाम्खा गाउँपालिकाको याल्वाङमा रहेको महाबौद्ध माध्यमिक विद्यालयमा ५१ विद्यार्थीमा कोरोना संक्रमण पुष्टि भएपछि जिल्लाभरका शैक्षिक संस्था विहिवार देखि बन्द गरिएको हो ।त्सैगरी उत्तरी नाम्खा गाउँपालिकामा पाँच दिनको अवधिमा ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।