२०८३ बैशाख १२ गते शनिवार

प्रचण्डका कारण पार्टी गम्भीर मोडमा : मुख्यमन्त्री पाेखरेल

काठमाडौँ — नेकपा नेता शंकर पोखरेले अध्यक्ष पु्ष्पकमल दाहालको एकल राजनीतिक प्रस्ताव पार्टी एकताको मर्म र स्थायी कमिटी निर्णयविपरीत भएको बताएका छन् ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा नेकपा स्थायी कमिटी सदस्यसमेत रहेका पोखरेलले सचिवालय बैठकमा नेकपा अध्यक्षले पार्टीका ‘प्रथम अध्यक्ष’ केपी शर्मा ओलीविरुद्ध संगीन आरोपसहित एकल राजनीतिक प्रस्ताव प्रस्तुत गर्नु पार्टी एकताको मर्म र स्थायी कमिटीको निर्णयको भावविपरीत भएको बताएका हुन् ।

साथै उक्त प्रस्ताव प्रस्तुत भएपछि पार्टी एकता गम्भीर मोडमा पुगेको सिंगो पार्टीले अनुभूति गरेको पनि पोखरेलले बताएका छन् । मुख्यमन्त्री पोखरेलले पार्टी एकताको रक्षाका लागि अध्यक्ष दाहाललाई उक्त प्रस्ताव फिर्ता लिन आग्रह गरेका छन् ।

पोखरेलले सामाजिक सञ्जालमा लेखेका छन्, ’म कमरेड प्रचण्डलाई पार्टी एकताको रक्षाका लागि बैठकमा प्रस्तुत गरिएको एकल प्रस्ताव फिर्ता गरी एकताको मर्म अनुरुप छलफललाई अघि बढाउन हार्दिक अनुरोध गर्दछु । व्यक्तिगत पत्र र संस्थागत प्रस्ताव फरक विषय हो भन्ने सत्य बुझ्न अनुरोध छ ।’

प्रकाशित मिति : २०७७ कार्तिक २९ गते शनिवार
प्रतिक्रिया