२०८३ बैशाख १२ गते शनिवार

नेकपा पार्टीभित्र उत्पन्न सङ्कट र समाधानको कार्यसूची बनाएरै छलफल गर्ने सहमती

काठमाडौ, २८ कात्तिक । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकले पार्टीभित्र उत्पन्न सङ्कट र त्यसका समाधानको कार्यसूची नै बनाएर छलफल गर्ने निष्कर्ष निकालेको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले पार्टीभित्र देखिएका समस्या र त्यसका लागि आवश्यक समाधानका उपायबारे कार्यसूची बनाएर थप छलफल गर्ने निर्णय गरेको हो । शुक्रबारको बैठकमा दुई अध्यक्षले एकअर्कालाई लेखेको पत्र सचिवालय सदस्यहरूलाई वितरण गरिएको छ ।

दुवै अध्यक्षले लेखेको पत्र र त्यसमा उल्लेख भएका विषयवस्तुमा थप अध्ययन गरेर धारणा बनाउन अध्ययनका लागि सचिवालय सदस्यहरूलाई पत्र बाँडिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।यस्तै सचिवालय सदस्यहरूलाई कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको सङ्कट समाधानका लागि तयार पार्नुभएको प्रस्ताव र स्थायी कमिटी बैठकपछि जारी गरिएको अन्तर्पार्टी निर्देशिका पनि दिइएको छ ।

शुक्रबार बसेको बैठकमा पार्टी र सरकार सामु रहेका ऐतिहासिक जिम्मेवारी पूरा गर्नुपर्ने कामहरूबारे पनि छलफल भएको प्रवक्ता श्रेष्ठको भनाइ छ । यस्तै नेकपाभित्र कुनै विदेशी शक्तिको हस्तक्षेपका कारण समस्या उत्पन्न भएको नभइ आन्तरिक कारण नै भएको प्रवक्ता श्रेष्ठले बताए ।
बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित नौ जना सचिवालय सदस्यहरू नै सहभागी भएका थिए । अर्को सचिवालय बैठक आउँदो मङ्सिर ३ गते दिउँसो १ बजे बस्ने निर्णय पनि बैठकले गरेको छ ।

प्रकाशित मिति : २०७७ कार्तिक २८ गते शुक्रवार
प्रतिक्रिया