कक्षा १२ को परीक्षाका लागि ४१ सय ५ परीक्षा केन्द्र

काठमाडौँ — मंसिर ९ गतेदेखि देशभरका ४ हजार १ सय ५ परीक्षा केन्द्रमा कक्षा १२ को परीक्षा सञ्चालन हुने भएको छ । विद्यार्थीले आफूले अध्ययन गरेकै विद्यालयबाट ४० प्रतिशत पूर्णाङ्कको संक्षिप्त परीक्षा दिन पाउनेछन् । विगतमा करिब एक हजार परीक्षा केन्द्रमा परीक्षा सञ्चालन हुने गरेको थियो । यस वर्ष कोभिड–१९ का कारण होम सेन्टरमा नै परीक्षा सञ्चालन गर्न लागिएको हो ।

विद्यार्थीले घरपायक परीक्षा केन्द्रबाट पनि परीक्षा दिन पाउने व्यवस्था गरिएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले बताए । काठमाडौं उपत्यकाका ३ जिल्ला र अन्य जिल्लाका विद्यार्थीले अर्को जिल्लाबाट समेत परीक्षा दिन पाउनेछन् । पौडेलका अनुसार कुल परीक्षार्थीमध्ये करिब ५ प्रतिशतले अर्को जिल्लाबाट परीक्षा दिनेछन् । विद्यार्थीले प्रवेशपत्र भने आफैंले अध्ययन गरेको विद्यालयबाट लिनुपर्छ ।

कुल पूर्णाङ्कलाई १०० प्रतिशत मानेर ४० पूर्णाङ्कमा बोर्डले लिखित परीक्षा सञ्चालन गर्न लागेको हो । ४० प्रतिशत कक्षा ११ मा प्राप्त गरेको अंकका आधारमा र २० प्रतिशत आन्तरिक मूल्यांकनका आधारमा कक्षा १२ को नतिजा सार्वजनिक गरिने बोर्डले जनाएको छ ।

प्रकाशित मिति : २०७७ कार्तिक २१ गते शुक्रवार
प्रतिक्रिया