नेकपाले यस वर्ष चाडपर्व लक्षित चियापान कार्यक्रम नगर्ने

काठमाडौ, ११ कात्तिक । सत्तारुढ पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले विगतका वर्षमा बडादशैं, तिहार, नेपाल संवत् ११४१ तथा छठ पर्व लगायत चाडपर्वका अवसरमा आयोजना गर्दै आएकोमा यस वर्ष शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम नगर्ने भएको छ ।

नेकपाका केन्द्रीय कार्यालयका सचिवद्वय ईश्वरी रिजाल र श्रीराम ढकालले मंगलवार विज्ञप्ति जारी गरी कोभिड –१९ महामारीका कारण यस वर्ष उक्त कार्यक्रम स्थगन गरिएको जानकारी दिएका छन् ।

विज्ञप्तिमा ती पर्वका अवसरमा देशविदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरिएको छ ।यस्तैगरी कोरोना भारइरसको महामारीकै कारण प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि हरेक वर्ष कोजाग्रत पूर्णिमाको दिन गर्दै आएको चियापान कार्यक्रम यस वर्ष नगर्ने भएको छ ।

प्रकाशित मिति : २०७७ कार्तिक ११ गते मङ्गलवार
प्रतिक्रिया