जिप पल्टिदा वडाध्यक्ष सहित ५ जनाको मृत्यु

जाजरकोट — जाजरकोटको जुनीचाँदे गाउँपालिका – १ औलभीरमा जिप दुर्घटना हुँदा वडाध्यक्ष सहित ५ जनाको मृत्यु भएको छ । दुर्घटनामा जुनीचाँदे वडा नं. ११ का वडाध्यक्ष अमरबहादुर शाही, स्थानीय कृष्णबहादुर शाही, खेमराज शाही, कृतिबहादुर शाही, र मालिका बस्नेतको मृत्यु भएको जाजरकोटका प्रहरी प्रमुख डिएसपी किशोर कुमार श्रेष्ठले जानकारी दिए ।

दुर्घटनामा स्थानीय नरबहादुर बुढा गम्भीर घाइते भएका छन् । दुर्घटनामा परेका २ जना बेपत्ता छन् । बेपत्ताको सनाखत हुन सकेको छैन । जुनीचादे गाउँपालिकाको कार्यपालिकाको बैठकका लागि सदरमुकाम खलंगादेखि परालेतर्फ जाँदै गरेको अध्यक्ष शाहीको टोली सवार उक्त जिप दुर्घटनामा परेको हो ।

जिप औलभीरस्थित सडकबाट ७ मिटर तल मजकोट खोलामा खसेको डिएसपी श्रेष्ठले बताए । घटनास्थलमा प्रहरी, स्थानीय लगायतले मृतक तथा घाइतेको उद्धार गरिरहेको र बेपत्ताको खोजी गरिरहेको उनले बताए ।

प्रकाशित मिति : २०७७ असोज २१ गते बुधवार
प्रतिक्रिया