प्रदेश ५ को नाम लुम्बिनी भयाे

बुटवल, २० असोज /  प्रदेश ५ को नाम लुम्बिनी र स्थायी राजधानी भालुवाङमा राख्ने प्रस्ताव दुई तिहाई बहुमतले पारित भएको छ । आज भएको मतदानमा प्रदेशको नाम लुम्बिनी राख्ने प्रस्तावको पक्षमा ७९ मत परेको छ भने विपक्षमा ४ मत खसेको छ ।

यस्तै स्थायी राजधानी भालुवाङ राख्ने प्रस्तावको पक्षमा ६९ मत परेको छ भने विपक्षमा १३ मत खसेको छ । ८७ सांसद मध्य ८२ जना उपस्थित थिए ।

प्रदेश सरकारले प्रदेशको नाम लुम्बिनी र स्थायी राजधानी दाङको भालुवाङ बजारलाई केन्द्रमा राखेर राप्ती र गढवा गाउँपालिका तथा अर्घाखाँभीको शीतगंगा नगरपालिकालाई जोडेर स्थायी राजधानी बनाउने प्रस्ताव १६ असोजमा प्रदेशसभामा पेश गरेको थियो ।

प्रदेशको स्थायी राजधानी भालुवाङमा राख्ने प्रस्तावको प्रमुख विपक्षी कांग्रेसले विरोध गरेको थिय भने हिजो प्रदेशसभामा तोडफोड समेत गरेका थिए । कांग्रेसले राजधानीसम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्न हृवीप लगाएको थियो ।

तर मंगलबार भएको मतदानमा कांग्रेसकै सांसदहरुले पार्टीको हृपीप विपरित फ्लोर क्रस गरेका छन् । प्रदेशसभामा कांग्रेसका १९ सांसद भएपनि विपक्षमा १३ मत मात्र खसेको छ ।

प्रदेशसभामा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का ६१ सांसद छन्, उनीहरुमध्ये सभामुख पूर्णबहादुर घर्तीले मतदान गरेनन् । यस्तै जनता समाजवादी पार्टीका ६ र राष्ट्रिय जनमोर्चाका एक प्रदेशसभा सदस्य छन् । प्रदेशको नाम र स्थायी राजधानी टुंगो लगाएसँगै प्रदेशसभाको अधिवेशन अन्त्य भएको छ ।

प्रकाशित मिति : २०७७ असोज २० गते मङ्गलवार
प्रतिक्रिया