जनता जागे विकास र समृद्धि हुन्छ : कोमल वली

तुलसीपुर,१७ असोज / राष्ट्रिय सभा सदस्य कोमल वलीले जनता जागरुक नहुँदासम्म विकास हुन नसक्ने बताउनुभएको छ । देशमा संघियता आएपछि सरकार गाउँ–गाउँमा पुगेको बताउँदै सदस्य वलीले आफ्ने गाउँ र समाजको विकासका लागि स्वयम् जनता संगठित र जागरुक हुनुपर्ने बताउनुभयो । तुलसीपुर–८ अश्वारामा भएको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै सदस्य वलीले जनता सुतेमा नेता र जनप्रतिनिधि पनि सुत्ने भएकाले उनिहरुलाई विकास र समृद्धिको यात्रामा अघि दौडाउन निरन्तर खबरदारी गर्नु पर्ने बताउनुभयो ।

देशको आमूल परिवर्तनका लागि नेपाल कम्युनिष्ट पार्टीको विकल्प नभएको बताउँदै सदस्य वलीले पछिल्लो समय कम्युनिष्ट नेतृत्वको सरकारले गरेको कामलाई देखेर देशभर विभिन्न पार्टी परित्याग गरेर कम्युनिष्ट पार्टीमा प्रवेश गर्नेको लहर बढ्दै गएको दाबी गर्नुभयो । ‘तपाँईहरुले बेलैमा मुलूको सबैभन्दा ठूलो पार्टीमा लाग्ने गरि निर्णय गर्नुभयो,’ सदस्य वलीले भन्नुभयो–‘ अब तपाँईहरुले समाज परिवर्तनका कृयासील हुनुपर्छ ।’

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी नेकपाका जिल्ला अध्यक्ष टीकाराम खड्का, तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख घनश्याम पाण्डे, नेकपाका जिल्ला कमिटी सदस्य विनोद शर्मा, तुलसीपुर उपमहानगरपालिका–१८ का वडाध्यक्ष माधव वली, महिला नेतृ जानका रेग्मी, पार्टी प्रवेश गर्नेहरको तर्फबाट शोभाराम भण्डारी लगाएतले आ–आफ्ना धारना राखेका थिए ।

४२ जना पार्टी प्रवेश

सो अबसरमा नेपाली कांग्रेस निकट निर्माण व्यवसायी शोभाराम भण्डारी सहित ४२ जना नेकपामा प्रवेश गरेका छन् । कांग्रेस पार्टीबाट देशको परिवर्तन सम्भव नभएकाले पार्टी छोड्नुको विकल्पन भएको भण्डारीले बताउनुभयो । पार्टी प्रवेश गरेकाहरुलाई प्रमुख अतिथि तथा विशिष्ट अथितिहरुले टिका लगाएर स्वागत गरेका थिए ।

नेकपा तुलसीपुर उपमहानगरपालिका–८नम्बर वडाकमिटीका अध्यक्ष बीरबहादुर वलीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण सचिव टोपबहादुर रोकाले गर्नु भएको थियो ।

प्रकाशित मिति : २०७७ असोज १७ गते शनिवार
प्रतिक्रिया