नेकपा सचिवालय बैठक आज बस्दै

काठमाडौँ,१७ असोज । सरकार पुनः गठनका विषयमा सहमति नजुटिरहेका बेला नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले महत्वपूर्ण नियुक्ति गरेपछि सचिवाय बैठकमा उक्त विषयले प्रवेश पाउने भएको छ ।शुक्रबार बिहान ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएपछि शनिबार सचिवालय बैठक बोलाउने र सोहि क्रममा छलफल गर्ने निर्णय भएको हो। दुई अध्यक्षले शनिबार दिउँसो ४ बजेका लागि प्रधानमन्त्री निवास बालुवाटारमा सचिवालय बैठक बोलाएका छन्।

स्रोतका अुनसार शुक्रबार भएको भेटमा दुई नेताबीच बैठक बोलाउने विषयमा मात्र केन्द्रित भएको छ। स्थायी समितिको म्याण्डेटअनुसार मन्त्रिपरिषद् पुनःगठनका लागि ओली र दाहालबीच गत बिहीबारदेखि प्रत्येक दिन छलफल हुँदै आएको थियो। दाहालले सबै जसो मन्त्री हटाउने प्रस्ताव गरे पनि ओलीले खाली रहेका मन्त्रालयमा जिम्मेवारी दिने र केहीलाई मात्र हेरफेर गर्ने बताएपछि कुरा मिल्न सकेको थिएन।
तर बिहीबार सरकारले अचानक अमेरिकाका लागि युवराज खतिवडा, बेलायका लागि निवर्तमान मुख्यसचिव लोक दर्शन रेग्मी र दक्षिण अफ्रिकासहितका १२ देशका लागि निर्मल विश्वकर्मालाई राजदूत बनाउने निर्णय गरेको छ।

मुख्य सचिवमा शंकरदास वैरागीलाई बनाउने निर्णय पनि सरकारले लिएको छ। महत्वपूर्ण निर्णय र राजनीतिक नियुक्ति पार्टीको सल्लाहअनुसार गर्ने निर्णयविपरीत ओली गएपछि नेताहरु असन्तुष्ट बनेका छन्।असन्तुष्टिकै कारण ओली दाहालबीच बिहीबार तय भएको भेटवार्ता रोकिएको थियो। एकलौटी नियुक्तिप्रति अध्यक्ष दाहालसहित झलनाथ खनाल, माधवकुमार नेपाल, नाराणकाजी श्रेष्ठ असन्तुष्ट बनेका छन्।उनीहरुले बैठकमै सल्लाह नगरी गरेको नियुक्तीबारे प्रश्न उठाउने तयारी गरेका छन ।

प्रकाशित मिति : २०७७ असोज १७ गते शनिवार
प्रतिक्रिया