मुख्यमन्त्रीसंग राजधानी साट्यो भन्नेलाई मुखमा बुझो !

तुलसीपुर, १६ असोज / मुख्यमन्त्री शंकर पोख्रेलले मुख्यमन्त्रीसंग राजधानी साट्यो भन्दै  प्रतिपक्षी दल कांग्रेसका नेता तथा कार्यकर्ताले चर्को आलोचान गरिरहेका बेला दाङ राजधानी बन्ने चर्चाले शुक्रबार दिउसो खुबै चर्चा पायो । शंकर पोख्रेलले मुख्यमन्त्रीसंग राजधानी साटे भनेर प्रतिपक्षी दल कांग्रेसले चर्को चुनाबी नारा बनाएको थियो ।

यद्यपी दाङको भालुबाङ क्षेत्रलाई स्थायी राजधानी बनाउने प्रस्ताव प्रदेश सभामा पेश भएपछि यसले चर्चा मात्रै पाएन दंगाली जनता उत्साहित समेत भएका छन् । जनअपेक्षा अनुसार दाङ राजधानी बन्ने लगभग पक्कापक्की जस्तै भएपछि दाङ बासीहरु उत्साहित भएका हुन् । दाङ राजधानी बन्ने चर्चाले शुक्रबार दिउँसो देखि सामाजिक संजाल फेसवुक रंगिएका छन् भने सार्वजनिक स्थान, होटल, चिया पसल, पाटीपौवामा दाङ राजधानीको बहसले चर्चा पाएको छ ।

शुक्रबारको बैठकमा प्रदेशको स्थायी राजधानी दाङ र नाम लुम्बिनी राख्न प्रदेश सरकारको तर्फबाट आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले प्रस्ताव पेश गरेका थिए । प्रदेश पाँचका मुख्यमन्त्री शंकर पोख्रेलले मुख्यमन्त्रीसंग राजधानी साट्यो भनेर गलत प्रचारबाजी भइरहेका बेला दाङका लागि खुशीको कुरा बाहिर आएको प्रदेश सांसद अमर बहादुर डाँगीले बताए ।

‘हामीले पहिल्यदेखिनै भन्दै आएका थियौं दाङ राजधानी बन्छ भनेर । तर पत्याइएको थिएन् । त्यो कुरा आज पुष्टि भएको छ,’ प्रदेश सांसद डाँगीले भने–‘ राजधानी दाङ बन्ने पक्का छ । कुनै संका छैन् । किनकी हाम्रो बहुमत पनि पुग्छ र पश्चिम क्षेत्रका कांग्रेसका साथीहरुले पनि भोट हाल्छन् ।’

भौगोलिक, वातावरण, सुरक्षाको दृष्टिकोणसंगै सबैलाई पायक पर्ने क्षेत्र भएकाले उपयुक्त भएर नै दाङलाई रोजिएको सांसद डाँगीले बताए । प्रस्तावमा दाङको राप्ती गाउँपालिका र गढवा गाउँपालिका तथा अर्घखाँचीको सितगंगा नगरपालिकाले ओगटेको राप्ती नदिले चर्चेको करिब ३४ विघाह क्षेत्रफलको भागलाई समेटेर दाङको भालुबाङ क्षेत्रलाई राजधानी बनाउने प्रस्ताव गरिएको डाँगीले बताए । ‘८७ जना सांसद छन् । ५८ जना भए बहुमत पुग्छ ,’ सांसद डाँगीले भने–‘नेकपाका सांसद ५९÷६० जना छन् । ’

सत्तारूढ नेकपाका दाङ अध्यक्ष टीकाराम खड्काले आफूहरूले निर्वाचनमा दंगाली जनतासँग गरेको वाचा पुरा गरेको बताए । ‘मुख्यमन्त्रीले बोलेको वाचा पुरा गर्नुभएको छ,’ खड्काले भने ‘यो निर्णयले दंगालीमात्रै होइन, संघीयताको मर्म बुझेका सबै जनता खुसी हुनेछन् ।’
प्रमुख प्रतिपक्षी दल कांग्रेसका सांसदहरुले भने एकतर्फी रुपमा प्रस्ताव ल्याएको भन्दै बिरोध जनाएका छन् ।

दाङ काँग्रेसले पनि भन्यो स्वावगत योग्य कुरा
नेपाली कांग्रेस दाङका सभापति कीर्तिबहादुर खड्काले पनि दाङको देउखुरीलाई प्रदेशको स्थायी राजधानी बनाउने कुरा स्वागत योग्य भएको बताए । ‘दाङले राजधानी मागेको होइन,’ सभापति खड्काले भने, ‘ बरू यो प्रदेशको आवश्यकता हो। दाङ सबैका लागि केन्द्र भागमा रहेको छ।’ आग्रह९पूर्वाग्रह नराखी संघीयताको मर्मअनुरूप प्रदेश ५ मा स्थायी राजधानी हुनका लागि दाङको विकल्प अरू जिल्लाहरुमा नहरेको उनले दाबी गरे।

प्रकाशित मिति : २०७७ असोज १६ गते शुक्रवार
प्रतिक्रिया