मन्त्रिपरिषद् पुनर्गठन गर्नेबारे नेकपामा छलफल सुरु

काठमाडौ, ४ असोज । नेपाल कम्युनिस्ट पार्टी नेकपामा सरकारको काम कारबाहीलाई थप प्रभावकारी बनाउन मन्त्रिपरिषद् पुनर्गठन गर्नेबारे छलफल सुरु भएको छ । आईतवार बसेको सचिवालय बैठकमा मन्त्रिमण्डल पुनर्गठनको आवश्यकता देखिएको र त्यस एजेण्डामा गम्भीरताका साथ छलफल सुरु भएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । उनका अनुसार यसबारे बैठकमा सदस्यहरुले विभिन्न सुझाव दिएका छन् तर मापदण्ड भने बनिनसकेको छैन ।

नेकपाभित्र मन्त्रिमण्डल पुनर्गठनबारे आवाज उठ्दै आएकोमा आईतवारको बैठकमा औपचारिक यस विषयले प्रवेश पाएको हो । यस्तै बैठकले संवैधानिक राजनीतिक नियुक्तिका उपयुक्त निर्णय गर्न सरकारलाई सुझाव दिएको छ । सांगठनिक एकीकरणका बँँकी कार्यभारत पूरा, रिक्त रहेका स्थायी समिति र केन्द्रीय समितिमा मनोनयन गर्ने लगायतका विषयमा पनि छलफल सुरु भएको श्रेष्ठले बताए । यसैबीच प्रवक्ता नारायणकाजी श्रेष्ठले नेता वामदेव गौतम र आफू मन्त्री हुनेबारे कहिँ कतै छलफल नभएको प्रष्टीकरण दिए ।

कोटेश्वर पेरिसडाँडास्थित पूर्वमाओवादीको मुख्यालयमा पहिलो पटक बसेको नेकपा सचिवालयको बैठकपछि पत्रकारहरुलाइ प्रतिक्रिया दिँदै श्रेष्ठले नेता गौतम र आफू मन्त्री हुनेबारे पार्टी बैठकमा छलफल नभएको बताए । फेरि बस्ने गरी सकिएको आईतवारको बैठकले मन्त्रिमण्डल पुनर्गठन गर्ने सैद्धान्तिक सहमति गरेको थियो । हाल अर्थ, सञ्चार र शहरी विकास मन्त्रालय रिक्त छन् भने प्रधानमन्त्री अरु केही मन्त्री पनि बिदा गरेर नयाँ व्यक्तिलाई मन्त्री बनाउने गृहकार्यका जुट्नु भएको नेकपा नेताहरुले बताउँदै आएका छन् ।

प्रकाशित मिति : २०७७ असोज ४ गते आइतवार
प्रतिक्रिया