कालीकोट — १४ भदौ । तिलागुफा–१, नाग्ममा आइतबार बिहान पहिरोले ४ घर पुरिँदा एकै परिवारका ४ जनाको मृत्यु भएको छ भने ६ जना बेपत्ता छन् । पहिरो जाँदा घरभित्र कम्तीमा १० जना रहेको प्रहरीले जनाएको छ ।
कालीकोटको नाग्म बजारमा आइतबार बिहान गएको पहिरो । पहिरोमा एकै परिवारका ४ जनाको मृत्यु भएको छ भने अन्य ६ जना बेपत्ता छन् । जुम्लाबाट आएको उद्धार टोलीले घटनास्थलबाट २ जनालाई जीवितै उद्धार गरी उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान लगेको छ । पहिरोमा ४ घर पुरिएका छन् ।
नाग्म बजारको पछाडिपट्टिको भिरालो जमिन भासिएर पहिरो जाँदा तिलागुफा–१ का लली नेपाली, मन्दिर कटुवाल, धनपति विक र वीर भेरिकारका घर भत्किएका हुन् । घरभित्र पुरिएको अवस्थामा नाग्म बजारमा व्यापार गर्दै आएका ४० वर्षीय प्रयाग शाही, उनकी ७ वर्षीया छोरी हिमा, ५ वर्षका छोरा निराजन र डेढ महिनाका छोरा अक्कल शाहीको मृत्यु भएको छ ।
जिल्ला प्रहरी प्रमुख डिएसपी श्यामबाबु ओलियाले डोजर लगाएर पहिरो पन्छाउँदै बेपत्ताको खोजी गरिरहेको बताए । खोजीमा नेपाल प्रहरी, सशस्त्र र नेपाली सेना संलग्न छन् । नाग्म बजारमा मोबाइल नेटवर्क नहुँदा ढिलो गरी घटनाको जानकारी आएको उनले बताए । पहिरो गएको सूचना पाएपछि जुम्ला सदरमुकाम खलंगा र सदरमुकाम मान्मबाट उद्धार टोली घटनास्थल पुगेको प्रमुख जिल्ला अधिकारी चन्द्रप्रसाद गैरे बताए । उनका अनुसार घरभित्र कति जना थिए भन्ने अझै एकीन हुन सकेको छैन ।
प्रहरीले जीवितै उद्धार गरेका अर्जुन हमाल र पुन्नी शाहीको अवस्था सामान्य रहेको उनले जानकारी दिए । प्रहरीका अनुसार पहिरोमा पुरिएर घाइते भएकी पुन्नी शाही पतिसहित ३ छोराछोरीको मृत्यु भएकाले बेलाबेलामा बेहोस गरेकी छिन् । प्रहरीले उनीबाट अन्य व्यक्तिबारे जानकारी लिइरहेको छ । कालीकोट र जुम्लाको सिमानामा पर्ने नाग्म तिलागुफा नगरपालिका, जुम्लाको हिमा र तिला गाउँपालिकाको व्यापारिक केन्द्र हो भन्दै इकान्तीपुरले खबर लेखेको छ ।





